काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरू खाना उपलब्ध नभएको भन्दै आन्दोलनमा उत्रिएका छन्। सरकारले खाद्यान्नको व्यवस्था नगरेपछि सोमबार साँझदेखि भोकै बस्नुपरेको उनीहरूको गुनासो छ।
होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूले लामो समयदेखि खानाको व्यवस्था नहुँदा रातभर भोकै बस्नुपरेको र अन्य कुनै विकल्प नभएपछि विरोध प्रदर्शन गर्न बाध्य भएको बताएका छन्।
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार, होल्डिङ सेन्टरमा बस्दै आएका परिवारहरूले सोमबार साँझदेखि खाना पाएका छैनन्। उनले होल्डिङ सेन्टरको बसाइ अत्यन्तै कष्टकर रहेको उल्लेख गर्दै आफू वैकल्पिक बसोबासका लागि कोठा खोज्दै हिँडिरहेको बताए।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले असार २४ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। तर, सरकारले तोकेको अवधिसम्म बस्न अनुमति दिए पनि आधारभूत आवश्यकता समेत पूरा नगरेको सुकुमवासीहरूको आरोप छ। उनीहरूका अनुसार यस अवस्थाले विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालबालिकालाई बढी प्रभावित बनाएको छ। नियमित खाना खाएपछि सेवन गर्नुपर्ने औषधिसमेत खान नपाएको उनीहरूको भनाइ छ।
सरकारले गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएर प्रभावित परिवारहरूलाई विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको थियो। खरिपाटीस्थित होल्डिङ सेन्टरमा हाल ९९ परिवारका २०७ जना बसोबास गरिरहेका छन्।