गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध २ करोड ५७ लाख रुपैयाँ भ्रष्टाचार मुद्दा दायर

दियोपोस्ट संवाददाता  

काठमाडौँ । रौतहट गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्ट्राचार मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारले मेयर यादवसँगै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुर, राजस्व शाखा प्रमुख बालकिशोर राय तथा भाग्यामणी कन्स्ट्रक्सनका राधेश्याम साहविरुद्ध मङ्गलबार आरोपपत्र दायर गरेको बताएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा समनपुरघाटको बालुवा, गिट्टी र ग्राभेलको ठेक्कामा २ करोड ५७ लाख ६२ हजार रुपैयाँ राजस्व हिनामिना गरेको आरोप छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार समनपुर नाकाबाट नदीजन्य पदार्थ उत्खनन तथा बिक्रीका लागि ३ करोड २५ लाख रुपैयाँमा भाग्यामणी कन्स्ट्रक्सन प्रालिलाई ठेक्का दिने निर्णय गरिएको थियो। सम्झौताअनुसार कम्पनीलाई सात दिनभित्र ठेक्का रकम बुझाउन पत्राचार गरिए पनि तोकिएको समयभित्र रकम दाखिला भएको थिएन।

अख्तियारले भाग्यामणी कन्स्ट्रक्सनका तर्फबाट मुख्य भूमिका निर्वाह गरेको आरोप लागेका राधेश्याम साहलाई पनि भ्रष्टाचारमा मतियार बनेको अभियोगमा प्रतिवादी बनाएको छ।

नगरपालिकाका जिम्मेवार पदाधिकारीहरूले ठेक्काको सर्तविपरीत कम्पनीले एक करोड रुपैयाँ बुझाइसकेको भनी झुटो विवरणसहितको टिप्पणी तयार गरी सदर गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

उक्त फर्जी कागजातका आधारमा कम्पनीलाई एक महिनाका लागि अस्थायी रूपमा नदीजन्य पदार्थ उत्खननको अनुमति दिइएको थियो। सो अवधिमा कम्पनीले ५४ हजार ३ सय ५५ घनमिटर नदीजन्य पदार्थ उत्खनन गरी ३ करोड ३२ लाख ६९ हजार रुपैयाँभन्दा बढीको लाभ लिएको अख्तियारको दाबी छ।

आयोगले मेयर यादव, ठाकुर र रायसँग जनही २ करोड ५७ लाख ६२ हजार रुपैयाँ बिगो असुल गर्न, कैद सजाय र बिगोको दोब्बर जरिवाना गर्न माग गरेको छ।

सिफारिस