धादिङमा ७८ हजार ४ सय क्याप्सुल प्रतिबन्धित लागूऔषधसहित दुई पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धादिङले ७८ हजार ४ सय क्याप्सुल प्रतिबन्धित लागूऔषध ट्रामा हाइड्रोक्लोराइड (५० एमजी) सहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका-३ निवासी ४१ वर्षीय मोहन प्रसाद कुर्मी र सोही स्थानकी ३५ वर्षीया प्रतिमा देवीलाई सोमबार बिहान बेनिघाट रोराङ गाउँपालिका–९ जोगीमाराबाट पक्राउ गरेको हो ।

वीरगञ्जबाट बनेपा जाँदै गरेको बा.प्र.०३-००१ ख २६८९ नम्बरको यात्रुवाहक बसबाट प्रतिबन्धित लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले बसमा सवार मोहन प्रसाद कुर्मी र प्रतिमा देवीको साथमा रहेको एउटा सुटकेस र दुई वटा जेब्रा झोलाको खानतलासी गर्दा रबरले बेरेर लुकाइराखिएको अवस्थामा ७ हजार ८४० स्ट्रिपमा रहेको कुल ७८ हजार ४ सय क्याप्सुल प्रतिबन्धित लागूऔषध ट्रामा हाइड्रोक्लोराइड बरामद गरेको बताइएको छ ।

बरामद लागूऔषध र दुई थान मोबाइल प्रहरीले नियन्त्रणमा लिएको छ। लागूऔषध ओसारपसारमा संलग्न दुवै जनालाई पक्राउ गरी लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरिएको उनले जानकारी दिए।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरीको हिरासतमा राखिएको छ भने अनुसन्धानका लागि सोमबार नै धादिङ जिल्ला अदालतमा पेश गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

सिफारिस