काठमाडौं । नेपाली उमा कुङफु खेलाडी सरिना घलेले बेलायतमा सम्पन्न डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिप मा स्वर्ण पदक जितेकी छन्। नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईका अनुसार सरिनाले महिला क्रिएटिभ फर्म अन्तर्गत १८ वर्षमाथि मिक्स बेल्ट स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हात पारेकी हुन्।
बेलायतको वोर्चेस्टरमा आयोजित प्रतियोगितामा सरिनाले २२.९ अंक प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी इङ्ल्यान्डकी अमेलिया पार्किनले २२.८ अंक जोड्दै दोस्रो स्थान हासिल गरिन्।
करिब दुई वर्षअघि उच्च शिक्षाका लागि बेलायत पुगेकी सरिनाले अध्ययनसँगै उमा कुङफु अभ्यासलाई निरन्तरता दिँदै आएकी छन्। उनले डिजिटल मार्केटिङमा मास्टर्स अफ साइन्स पूरा गरिसकेकी छन्। उमा कुङफुबाहेक उनले लन्डन म्याराथनसहित विभिन्न दौड प्रतियोगितामा पनि सहभागिता जनाइसकेकी छन्।
अध्यक्ष राईका अनुसार सरिना आगामी सेप्टेम्बरमा अस्ट्रियामा आयोजना हुने डब्लुएमएसी विश्व च्याम्पियनसिप-२०२६ को तयारीमा जुटेकी छन्।