काठमाडौँ । म्याग्दीको धौलागिरि गाउँपालिका-७ फेदीखोलामा आइतबार दुई बोलेरो जिप दुर्घटनामा पर्दा ९ जना घाइते भएका छन्। विपरीत दिशाबाट आइरहेको ग३च ३३१४ र बि एए ७७९५ नम्बरको बोलेरो जिप यात्रुवाहक बोलेरो जिपमाथि खसेपछि दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार दुबै जिप घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा ग३च ३३१४ नम्बरको बोलेरोका चालक पर्वतको जलजला गाउँपालिका-८ निवासी अनिल नेपाली तथा बा एए ७७९५ नम्बरको बोलेरोका चालक म्याग्दीको धौलागिरि गाउँपालिका-३ मुना निवासी २७ वर्षीय धुर्व पुन घाइते भएका छन्।
यस्तै, धौलागिरि गाउँपालिका-७ का १७ वर्षीया रबिना सिर्पाली, ७४ वर्षीय सुनबिर रसाइली, ७८ वर्षीया ख्याउटी रसाइली, ४० वर्षीया धनाकुमारी सुनार, ६३ वर्षीय दलबहादुर सुनार, २६ वर्षीया कल्पना सुनार तथा रोल्पाको थवाङ गाउँपालिका-५ निवासी ५२ वर्षीय भिमसेन पुन पनि घाइते भएको प्रहरीले जनाएको छ।
घाइते सबैको मालिका गाउँपालिका-६ स्थित दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनामा परेका दुवै सवारीसाधनमा गरी १० जना सवार रहेकामा एक जना सकुशल रहेका छन् भने ९ जना घाइते भएका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।