पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष भ्रष्टाचार मुद्दामा फरार, प्रशासकीय अधिकृतमाथि रकम असुलीको आरोप

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका भ्रष्टाचार र अनियमितताको अखडा बन्दै गएको छ । गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि कार्यवाहक जिम्मेवारी सम्हालिरहेका प्रमुख प्रशासकीय अधिकृत दिनेश गौड (कहार)माथि समेत आर्थिक अनियमितताको आरोप लागेको छ ।

गौडले जिम्मेवारी सम्हालेयता व्यापारी तथा निर्माण व्यवसायीहरूसँग रकम असुल्ने गरेको आरोप पालिकाका कर्मचारी तथा केही निर्माण व्यवसायीहरूले लगाएका छन् । कर्मचारीलाई समेत दबाब दिएर व्यक्तिगत बैंक खाताको क्यूआर कोडमार्फत रकम माग्न लगाइएको आरोप छ ।

एक कर्मचारीका अनुसार गौडले ‘मा पाल्ही भगवती कृषि फार्म’को नाममा रहेको बैंक ‘क्यूआर’ कोड प्रयोग गरी विभिन्न निर्माण व्यवसायी तथा सेवाग्राहीबाट रकम उठाउन निर्देशन दिने गरेका छन् । ति कर्मचारीका अनुसार उक्त कृषि फार्मका संचालक नरेश जैसवालसंगको मिलेमतोमा उनकै फार्मको बैक क्यूआर मार्फत ठेकेदारबाट रकम असुल गरिएको छ ।

“विभिन्न खरिदका लागि भन्दै लेखा शाखासँग पैसा माग्नुहुन्छ । क्यूआर दिएर पैसा माग्न कर्मचारीलाई दबाब दिनुहुन्छ । यसअघि यस्तो अवस्था थिएन,” ती कर्मचारीले आफ्नो नाम नखुलाउने सर्तमा बताए ।

कर्मचारीहरूका अनुसार गाउँपालिकाको कामका लागि व्यक्तिगत क्यूआर प्रयोग गरिएको विषयमा आलोचना भएपछि गौडले निर्माण व्यवसायीहरूसँग क्यूआरको सट्टामा नगद रकम माग्न थालेको आरोप छ । रकम नदिए निर्माण कार्य रोक्ने दबाब दिने गरेको कर्मचारीले बताए ।

“कुनै ठेकेदारले पैसा दिएन भने काम रोक्ने अवस्था छ । अहिले सबै निर्णय उहाँकै हातमा छ । लेखा शाखाले समेत यस्तो नगर्न आग्रह गर्दा ‘तिमीहरूलाई केही थाहा छैन’ भन्दै जवाफ दिने गर्नुहुन्छ,” एक कर्मचारीले बताए ।

गौडको व्यवहारका कारण गाउँपालिकाका कर्मचारीहरू त्रसित बनेको उनीहरूको भनाइ छ । कर्मचारीमाथि गालीगलौज गर्ने तथा पैसा असुल गर्न दबाब दिने गरेको आरोपसमेत लगाइएको छ ।

यता, आरोपी गौडले आफुमाथि लागेको आरोप झुटो भएको बताए । ‘मलाई यो विषयमा केही पनि थाहा छैन । ममाथि झुटो आरोप लगाइएको हो । यसमा कुनै सत्यता छैन,’ उनले भने । यसअघि गौड रुपन्देहीको शुद्धोधन गाउँपालिकामा कार्यरत थिए । त्यहाँ पनि आर्थिक अनियमितताको आरोपपछि उनलाई जिम्मेवारीबाट हटाइएको बताइएको छ ।

गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ बराबरको भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि अध्यक्ष गुप्ता फरार रहेको अवस्थामा गाउँपालिकाको प्रशासनिक जिम्मेवारी गौडले सम्हाल्दै आएका छन् ।

यता, अध्यक्ष गुप्ताविरुद्धको भ्रष्टाचार मुद्दा र पछिल्लो समय प्रशासकीय अधिकृत गौडमाथि उठेका आरोपले पाल्हीनन्दन गाउँपालिकाको प्रशासनिक र आर्थिक पारदर्शितामाथि प्रश्न उठेको छ ।

सिफारिस