मेची राजमार्गको राजदुवाली सडक खण्ड अवरुद्ध, इलामवासीद्वारा वैकल्पिक मार्गको माग

दियोपोस्ट संवाददाता  

काठमाडौँ । लगातारको वर्षापछि मेची राजमार्गअन्तर्गत इलामको माई खोलास्थित राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ। माथिबाट जमिन बग्ने समस्या पटक–पटक दोहोरिँदै आएको उक्त क्षेत्रमा सडक चर्किनुका साथै विभिन्न स्थानमा भासिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको हो।

निरन्तरको वर्षाका कारण राजदुवाली सडक खण्डमा साना तथा ठूला कुनै पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन्। सडक अवरुद्ध भएपछि इलामवासी चिन्तित बनेका छन्।

वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगोला-तिल्केनी सडकमा समेत हिलो र अत्यधिक चिप्लोपनका कारण यातायात सञ्चालनमा कठिनाइ भएको पूर्वेली जिप तथा ट्याक्सी यातायात प्रालिका अध्यक्ष गृष्म सुब्बाले जानकारी दिए।

उनका अनुसार उक्त सडकमा चारपाङ्ग्रे सवारी साधन सञ्चालन गर्न सकिने भए पनि अत्यधिक हिलो र चिप्लो अवस्थाका कारण दुर्घटनाको जोखिम बढेको छ।

यसैबीच, इलाम-झापा जोड्ने केचना-कञ्चनजङ्घा द्रुतमार्गअन्तर्गत पुवा खोलाको डाइभर्सनमाथिबाट बाढी बगिरहेका कारण त्यहाँ पनि यातायात सेवा प्रभावित बनेको छ।

सडक डिभिजन कार्यालय इलामका अनुसार पुवा खोला र जोगमाई खोलामा जडान गर्ने भनिएका बेलीब्रिज भारतबाट हालसम्म आइपुगेका छैनन्। बेलीब्रिज जडान हुन नसक्दा वर्षौंदेखि दोहोरिँदै आएको समस्या समाधान हुन नसकेको कार्यालयले जनाएको छ।

राजदुवाली सडक खण्डमा देखिँदै आएको दीर्घकालीन समस्याको स्थायी समाधानका लागि स्थानीयले वैकल्पिक सडक निर्माणको माग गर्दै आएका छन्। सडक पूर्ण रूपमा बन्द भएपछि उनीहरूले उक्त मागलाई थप जोड दिएका छन्।

इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले इलाम सदरमुकाम जोड्ने भरपर्दो वैकल्पिक सडक नहुँदा बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत समस्या देखिन थालेको बताए।

उनले वर्षायाममा पटक-पटक अवरुद्ध हुने राजदुवाली सडकको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने आवश्यकता औंल्याए।

सिफारिस