काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगु जिल्लाको सोरु गाउँपालिका-१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली रहेको प्रहरीले जनाएको छ ।
नेपाली काठमाडौंमा पठाओ (राइड सेयरिङ) चालकका रूपमा काम गर्दै आएका थिए । प्रहरी स्रोतका अनुसार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्वील लक’ गरिदिएपछि आवेशमा आएर उनले यस्तो कदम चालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १ः४५ बजे काठमाडौं महानगरपालिका-११, त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट नजिकै नेपालीले अचानक आफ्नै शरीरमा आगो लगाएका थिए ।
घटनाको सूचना पाएपछि प्रहरीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पुर्याएको थियो । हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट नेपालीको पेटदेखि माथिल्लो शरीरको भाग जलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।