नेपाल टेलिकम भ्रष्टाचार मुद्दाः तत्कालीन एमडी सुनिल पौडेलसहित १८ जनाले पाए सफाइ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को बिलिङ सिस्टम अपग्रेडसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाले सफाइ पाएका छन् । विशेष अदालतले अभियोग पुष्टि हुने पर्याप्त आधार नदेखिएको भन्दै बिहीबार सबै प्रतिवादीलाई सफाइ दिएको हो।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित संगीता पहाडी (संगिता अर्याल), प्रतिभा वैद्य (प्रतिभा श्रेष्ठ), राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, विनिता श्रेष्ठ, अमुल प्रधान, राजीवकुमार केसी, हेमप्रभा कर्ण (हेमप्रभा रामप्रताप कर्ण), नवल चौधरी, मुक्ति प्रसाद अर्याल, सन्तोषकुमार श्रेष्ठ, परमात्मा भट्टराईलगायत रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ सिस्टम स्तरोन्नति गर्ने क्रममा आर्थिक अनियमितता र मिलेमतो भएको दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले तत्कालीन प्रबन्ध निर्देशक पौडेलसहितका प्रतिवादीहरूले पदको दुरुपयोग गरी राज्यलाई आर्थिक क्षति पुर्‍याएको आरोप लगाएको थियो।

अख्तियारले उक्त मुद्दामा प्रतिवादीहरूबाट ३३ करोड रुपैयाँभन्दा बढी बिगो असुल गर्नुपर्ने माग गर्दै कानुनी कारबाहीको माग गरेको थियो।

सिफारिस