नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा अर्जुनचौपारी गाउँपालिकाका कर्मचारीविरुद्ध मुद्दा दायर

दियोपोस्ट संवाददाता  

काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा नियुक्ति लिएको आरोपमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका कर्मचारी हिरालाल काफ्लेविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काफ्लेले भारतबाट प्राप्त गरेको भनिएको एसएलसी सरहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार काफ्लेले भारतको आसामस्थित गुहाटीमा रहेको ‘बोर्ड अफ सेकेन्डरी एजुकेसन’बाट सन् १९९८ मा एसएलसी उत्तीर्ण गरेको भन्दै नक्कली प्रमाणपत्र पेश गरेका थिए । उक्त प्रमाणपत्रकै आधारमा उनले नियुक्ति लिएको र पछि पदोन्नतिका क्रममा समेत सोही प्रमाणपत्र प्रयोग गरेको आरोपपत्रमा उल्लेख छ ।

काफ्ले अर्जुनचौपारी गाउँपालिकामा सहायकस्तर पाँचौं तहका कर्मचारीका रूपमा कार्यरत छन् । आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सार्वजनिक पद प्राप्त गरेको भन्दै उनीमाथि कानुनी कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सिफारिस