काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहिबार आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि युवाहरूले सरकारविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले गणेश नेपालीको मृत्युको निष्पक्ष छानबिन गर्नुपर्ने, घटनामा संलग्न भनिएका पक्षमाथि अनुसन्धान गरी दोषी देखिए कारबाही गर्नुपर्ने र नागरिकसँग राज्यका निकायले गर्ने व्यवहार सुधार गर्नुपर्ने माग राखेका छन्।
प्रदर्शनका क्रममा युवाहरूले सरकार र सम्बन्धित निकायविरुद्ध नाराबाजी गर्दै प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले सामान्य प्रशासनिक विवादले एक नागरिकले ज्यान गुमाउने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा राज्यले जवाफ दिनुपर्ने बताए छन् ।
प्रारम्भिक विवरणअनुसार गणेश नेपाली बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका थिए। सोही क्रममा उनको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक लगाएको र जरिवानाको विषयमा विवाद भएको बताइएको छ। त्यसपछि उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए।
गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि सामाजिक सञ्जालदेखि सडकसम्म राज्यका सेवा प्रवाह र नागरिकसँग गरिने व्यवहारबारे बहस सुरु भएको छ। विभिन्न समूह तथा युवाहरूले घटनाको वास्तविक कारण पत्ता लगाउन निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्।
यता सम्बन्धित निकायले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानबाट घटनाको वास्तविक कारण र जिम्मेवार पक्षबारे थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।
गणेश नेपालीको मृत्युले नागरिकको समस्या समाधान गर्ने सरकारी संयन्त्र, प्रशासनिक व्यवहार र सेवा प्रवाहको संवेदनशीलतामाथि प्रश्न उठाएको छ।