काठमाडौँ । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पहिरोले घट्ट पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा सान्नीत्रिवेणी गाउँपालिका–६ धामीगाउँका ४६ वर्षीय मन्दिर साउद र ७६ वर्षीय लालबहादुर साउदको पहिरोमा पुरिएर मृत्यु भएको हो।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ः३० बजे काप्रीखोला क्षेत्रमा रहेको घट्टमा बसिरहेका बेला माथिबाट खसेको पहिरोले उनीहरूलाई पुरेको थियो। करिब २५ मिटर माथिबाट खसेको पहिरोले घट्टको आधा भागसहित दुवै जनालाई पुरेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी मेहलमुडीबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर खड्काको नेतृत्वमा चार जनाको प्रहरी टोली दिउँसो करिब २ बजे घटनास्थल पुगेको थियो। प्रहरी टोलीले पहिरोमा पुरिएका दुवै जनालाई उद्धार गरे पनि उनीहरूको घटनास्थलमै मृत्यु भइसकेको पुष्टि भएको हो।
घटनास्थल प्रहरी चौकी मेहलमुडीबाट करिब १० किलोमिटर पश्चिममा रहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीको नेतृत्वमा पाँच सदस्यीय विशेष प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
मृतकहरूको शव हाल घटनास्थलमै रहेको र घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।