काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट विस्थापित भई हाल होल्डिङ सेन्टरमा बस्दै आएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले आफ्नो मानवअधिकार संरक्षणको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा अपिलपत्र बुझाएका छन्।
थापाथली, शान्तिनगर, गैरीगाउँलगायतका क्षेत्रबाट हटाइएका पीडित परिवारका प्रतिनिधि तथा अधिकारकर्मीहरू आयोग पुगेर होल्डिङ सेन्टरमा भोग्दै आएका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका हुन्।
सुकुम्बासी तथा भूमिहीन समुदायका अधिकारकर्मी दल मर्दन कामीको नेतृत्वमा झवरलाल उराँव, कल्पना थापा, पर्मिला राई, निरकुमार मगर, रामकुमारी राई, कमला उराँव, गोपाल माझी, सुशीला लगायतको प्रतिनिधिमण्डलले आयोगका अध्यक्ष तपबहादुर मगरसमक्ष अपिलपत्र बुझाएको हो।
अपिलपत्रमार्फत विस्थापित परिवारले होल्डिङ सेन्टरमा बसोबासका क्रममा राहत वितरणमा भएको विभेद, आधारभूत सेवाको अभाव, असुरक्षित तथा अमानवीय जीवनयापनको अवस्था र सम्मानजनक आवासको अभावबारे जानकारी गराएका छन्। उनीहरूले संविधानले सुनिश्चित गरेको आवास अधिकार र मानवअधिकार संरक्षणका लागि तत्काल कदम चाल्न आयोगसँग माग गरेका छन्।
अपिलपत्रमा वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर आफूहरूलाई विस्थापित बनाइएको उल्लेख गरिएको छ। साथै, कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका परिवारलाई बाढीका कारण भक्तपुरको तालीम केन्द्र, बोडेमा सारिएको भए पनि त्यहाँ समेत खानेपानी, स्वास्थ्य, सरसफाइ लगायतका आधारभूत सुविधाको अभावमा कष्टकर जीवन बिताउन बाध्य भएको जनाइएको छ।
पीडित परिवारको गुनासो सुनेपछि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्राप्त निवेदनमाथि अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव तथा सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गरेका प्रतिनिधिमण्डलका संयोजक दल मर्दन कामीले जानकारी दिए ।
