काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ। आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि असार २८ गतेदेखि विद्युत् उत्पादन पूर्ण रूपमा रोकिएको आयोजनाले जनाएको छ।
आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाढीसँगै गएको पहिरोले बाँधसम्म पुग्ने सडक अवरुद्ध बनाएको छ। बाँधमा क्षति पुगेकाले मर्मत कार्यसमेत प्रभावित भएको उनले जानकारी दिए।
विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक क्षति व्यहोर्नुपरेको छ। बाढीबाट भएको क्षतिको मूल्याङ्कन तथा मर्मतको तयारी भइरहेको आयोजनाले जनाएको छ।
गत वर्ष निर्माण सम्पन्न भएको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो।