काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेर नेपालको तराई भूभाग नजिक रहेको छ।
महाशाखाका अनुसार बुधबार बिहानदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, देशका पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। पहाडी तथा तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने कोशी प्रदेशका पहाडी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका बासिन्दालाई सतर्क रहन मौसम विभागले आग्रह गरेको छ। ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको हो। यस्ता मौसमीय गतिविधिका कारण जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले विभागले पछिल्ला मौसम सम्बन्धी सूचनामा नियमित अद्यावधिक रहन आग्रह गरेको छ।