काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुटवलका व्यवसायी शशी शर्मा पौडेललाई पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा उनलाई मंगलबार पक्राउ गरिएको हो।
सिआइबीका अनुसार उनीमाथि प्रभु बैंकबाट रिसोर्ट निर्माणका लागि लिएको कर्जा तोकिएको प्रयोजनभन्दा फरक क्षेत्रमा प्रयोग गरेको तथा त्यससँग सम्बन्धित आर्थिक कारोबारबारे अनुसन्धान भइरहेको छ।
अनुसन्धानमा संलग्न स्रोतका अनुसार शशी शर्मा पौडेलको पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग आर्थिक कारोबार देखिएकाले त्यसको समेत अनुसन्धान भइरहेको छ। यही आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको भूमिकालाई पनि अनुसन्धानको दायरामा ल्याएको बताइएको छ ।
को हुन् शशी शर्मा पौडेल?
पौडेल रुपन्देहीको बुटवल–तिलोत्तमा क्षेत्रका व्यवसायी हुन्। उनी पर्यटनलगायत विभिन्न व्यावसायिक क्षेत्रमा सक्रिय छन्। ‘एशियन भिलेज रिसोर्ट’का सञ्चालक रहेका उनले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंकबाट ४८ करोड रुपैयाँ कर्जा लिएका थिए।
नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा सीआईबीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कर्जा दुरुपयोगको अनुसन्धान अघि बढाएको थियो ।
प्रतिवेदनअनुसार कम्पनीले बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने कबुलियतनामा गराई कर्जा निकासा गरेको थियो। त्यसपछि उक्त रकम कम्पनीका अध्यक्षसँग पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा आफ्नै समूहका अन्य ऋणी कम्पनीहरूको बक्यौता तिर्न प्रयोग गरिएको आरोप छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसअघि नै पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि अनुसन्धान अघि बढाइसकेको छ। त्यस क्रममा देखिएका आर्थिक कारोबार र सम्बन्धित व्यक्तिहरूमाथि पनि अनुसन्धान विस्तार गरिएको स्रोतको भनाइ छ।
विष्णु पौडेल हाल विभागको अनुसन्धानमा छन्। उनी असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। उनलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले सोमबार पाँचौँ पटक तीन दिनको म्याद थप गरेको थियो।