
Oplus_16908288
काठमाडौँ । रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। गरुडा नगरपालिका वडा नं. ९ गम्हरिया टोल बस्ने २८ वर्षीय गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै घरभित्र जिउमा आगो लगाएका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आगलागीबाट सहनीको घाँटीमुनिको भागसहित करिब ३२ प्रतिशत शरीर जलेको छ। गम्भीर घाइते भएका उनलाई काठमाडौँ ल्याएर वीर अस्पतालको आईसीयूमा राखी उपचार सुरु गरिएको परिवारका सदस्यहरूले जनाएका छन्।
घटना लगत्तै सहनीलाई स्थानीय बेटर नेपाल अस्पताल, गरुडा पुर्याइएको थियो। अस्पतालबाट बुधबार बिहान करिब ४ बजे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको कमाण्डमा प्रहरी टोली खटिएको थियो।
स्थानीय अस्पतालमा प्रारम्भिक उपचार गरिएपछि उनलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको भए पनि अन्ततः वीर अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। उनलाई बुधबार बिहान ४ बजे नै एम्बुलेन्स मार्फत काठमाडौँ ल्याइएको थियो। सहनीले आत्मदाह प्रयास गर्नुको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।