कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेसका चार मन्त्री दिए सामूहिक राजीनामा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो पदबाट सामूहिक राजीनामा दिएका छन् । पार्टीको आन्तरिक निर्णय बमोजिम कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गरिरहेका चारैजना मन्त्रीहरूले बुधबार बिहान मुख्यमन्त्री यामलाल कँडेल समक्ष संयुक्त रूपमा राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन् ।

कांग्रेस मन्त्रीहरूको सामूहिक बहिर्गमनसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको जोडघटाउ र गृहकार्य तीव्र बनेको छ । नयाँ समीकरण अनुसार एमाले र कांग्रेस मिलेर नयाँ संयुक्त सरकार बनाउने तयारी भइरहेको र मन्त्रालय बाँडफाँटका विषयमा दुई दलबीच आन्तरिक छलफल सुरु भइसकेको बुझिएको छ ।