काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई गैरकानुनी सम्पत्ति आर्जन (भ्रष्टाचार) मुद्दामा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको छ । अदालतले उनलाई कैदका साथै १२ करोड ७५ लाख ७० हजार २३७ रुपैयाँ ४३ पैसा जरिवाना र सोही बराबरको सम्पत्ति जफत गर्ने फैसला समेत गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेलमाथि लागेको कसुर स्थापित गर्दै सजाय निर्धारण गरेको हो ।
अदालतले बिगो बमोजिमको अवैध आर्जन गरिएको सम्पत्ति र बैंक खातामा रहेको रकम जफत हुने जनाएको छ । अदालतले पौडेलले सार्वजनिक पदमा बहाल रहँदा आफ्नो वैध आयको तुलनामा अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको र त्यसको कानुनी स्रोत पुष्टि गर्न नसकेको ठहर गरेको छ ।
के थियो घटना?
नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्नुअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रको महानिर्देशक रहेका पौडेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा उनको आम्दानी र खर्चको अन्तर अमिल्दो देखिएपछि अख्तियारले सवा २३ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
पौडेल यसअघि बहुचर्चित राष्ट्रिय पेमेन्ट गेटवे खरिद प्रकरणमा सञ्चार प्रविधि मन्त्रालयका सचिव मधुकुमार मरासिनी लगायतसँगै भ्रष्टाचार मुद्दामा तानिएका थिए । पेमेन्ट गेटवे भ्रष्टाचार मुद्दामा उनी यसअघि नै दोषी ठहर भइसकेका छन् भने गैरकानुनी सम्पत्ति आर्जनको यो दोस्रो मुद्दामा पनि अदालतले उनलाई दोषी ठहर गरेको हो ।