काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत छैटौँ तहका इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा पक्राउ गरेको छ ।
आयोगको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले खड्कालाई झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार योजनाबद्ध निगरानीपछि खड्कालाई घुस रकमसहित रंगेहात पक्राउ गरिएको हो। पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।