काठमाडौँ । धादिङको जिल्ला अस्पतालमा प्रसूति गराउने क्रममा नवजात शिशुको मृत्यु भएपछि अस्पताल पूनः विवादित बनेको छ । नीलकण्ठ नगरपालिका–२ चिसापानीकी ३२ वर्षीया गर्भवती महिला बिफा गुरुङको प्रसूतिका क्रममा शिशुको मृत्यु भए पछि अस्पताल विवादित बनेको हो ।
पीडित परिवारले डाक्टरको लापरवाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन् । अस्पताल प्रशासनले भने उक्त आरोप अस्वीकार गर्दै आमाको ज्यान बचाउन सफल भएको जनाएको छ।
पीडित परिवारका अनुसार असार २७ गते शनिबार एक्कासी पेट दुख्न थालेपछि बिफालाई सो अस्पताल लगिएको थियो। चिकित्सकले भर्ना गर्न सुझाव दिएपछि सोही दिन अस्पतालमा भर्ना गरिएको थियो। प्रारम्भिक सबै स्वास्थ्य परीक्षणको रिपोर्ट सामान्य आएको र दुखाइ कम गर्ने औषधि दिएपछि उनको अवस्था सामान्य रहेको परिवारको भनाइ छ।
अस्पतालले सोमबार रातिदेखि कृत्रिम रूपमा प्रसूति व्यथा गराउने औषधि दिन सुरु गरेको थियो। तर लगातार तीन पटक औषधि दिँदा पनि प्रसूति व्यथा नलागेको परिवारले जनाएको छ। चौथो पटक औषधि दिने तयारी भइरहेका बेला गर्भमा रहेको शिशुको मुटुको धड्कन बन्द भएको भन्दै तत्काल शल्यक्रिया गर्नुपर्ने निर्णय गरिएको थियो।
शल्यक्रियाका लागि अपरेशन थिएटरमा लगिएपछि करिब चार घण्टासम्म पनि आमा र शिशुलाई बाहिर नल्याइएपछि आफन्तहरू चिन्तित बनेका थिए। त्यसक्रममा एक नर्सले पाठेघर च्यातिएका कारण शिशुलाई बचाउन नसकिएको जानकारी दिएको परिवारको दाबी छ।
घटनापछि सुत्केरीका आफन्त र अस्पतालका कर्मचारीबीच भनाभन भएको प्रत्यक्षदर्शीले बताए । त्यसपछि अस्पतालका चिकित्सक तथा कर्मचारीले नवजात शिशु जीवित रहेको र काठमाडौँको सुविधासम्पन्न अस्पतालमा लैजाँदा बचाउन सकिने भन्दै एम्बुलेन्समार्फत पठाएको परिवारले जनाएको छ। तर करिब ४५ मिनेटको दूरी पार गरेर गजुरी पुगेपछि बाटोमै शिशुको मृत्यु भएको जानकारी दिँदै एम्बुलेन्स पुनः धादिङ जिल्ला अस्पताल फर्काइएको पीडित परिवारले बताए ।
घटनापछि पीडित परिवारले चिकित्सकको लापरवाहीका कारण नवजात शिशुको मृत्यु भएको आरोप लगाउँदै सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। अस्पतालले भने पाठेघर फुटेका कारण शिशुलाई बचाउन नसकिएको बताएको भन्दै परिवारले असन्तुष्टि जनाएको छ।
यता, धादिङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन महासेठले नवजात शिशुको ज्यान बचाउन नसकिए पनि आमाको ज्यान बचाउन सफल भएको बताएका छन्। उनले चिकित्सकीय लापरवाहीका कारण शिशुको मृत्यु भएको आरोप निराधार रहेको दाबी गरेका छन्।
अस्पतालकी सूचना अधिकारी डा. अस्मिता कटुवालका अनुसार शल्यक्रियापछि बिफा गुरुङलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
यसैबीच, स्त्रीरोग विशेषज्ञ डा. सदिक्षा चापागाईका अनुसार धेरै सन्तान जन्माइसकेका वा बढी उमेरका गर्भवती महिलामा कृत्रिम रूपमा प्रसूति व्यथा गराउने औषधिको असरका कारण दुर्लभ अवस्थामा पाठेघर फुट्ने जोखिम हुन सक्छ। पाठेघर फुट्नु आमा र गर्भमा रहेको शिशु दुवैका लागि गम्भीर अवस्था हुने उनी बताउँछिन्।
मृत शिशुकी आमा बिफा गुरुङका यसअघि ६ र १० वर्ष उमेरका दुई छोरी छन्। उनका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबियामा रहेका छन्। पीडित परिवारले बिफाको निःशुल्क उपचारको व्यवस्था गर्न र घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन्।