जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’ हुँदै, विश्वभरका नेपाली पत्रकार एकै मञ्चमा जुट्ने

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा आगामी जुलाई २५ मा जापानको राजधानी टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुने भएको छ। ‘प्रवासी सञ्चार माध्यममार्फत नेपाल र विश्वलाई जोड्ने’ मूल नारासहित हुन लागेको सम्मेलनमा नेपाल पत्रकार महासंघका १२ वटा वैदेशिक शाखाले सहआयोजकको भूमिका निर्वाह गर्नेछन्।

आयोजकका अनुसार सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मासहित केन्द्रीय कार्यसमितिका ३३ जना पदाधिकारी तथा सदस्य, विभिन्न वैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधि, जापानमा कार्यरत पत्रकार तथा विश्वभर सक्रिय नेपाली सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहनेछ।

नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले उच्च शिक्षा, रोजगारी र व्यवसायका लागि विदेशिएका नेपाली समुदायका गतिविधि, चुनौती, उपलब्धि र सरोकारलाई मातृभूमिसम्म पुर्‍याउन प्रवासी पत्रकारिताको भूमिका दिनप्रतिदिन महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै यही आवश्यकतालाई मध्यनजर गरी सम्मेलन आयोजना गरिएको बताए।

महासंघ जापान शाखाकी उपाध्यक्ष मनिषा चम्लागाईँका अनुसार सम्मेलनमा प्रवासी पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावना, महासंघको केन्द्रीय समिति र वैदेशिक शाखाबीचको सम्बन्ध, जिम्मेवार पत्रकारितामा प्रविधिको प्रभाव तथा प्रेस स्वतन्त्रताजस्ता समसामयिक विषयमा कार्यपत्र प्रस्तुति, प्यानल छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ।

नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्लले सम्मेलनले महासंघको केन्द्र र वैदेशिक शाखाबीचको सम्बन्धलाई थप संस्थागत र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार विदेशमा विभिन्न चुनौतीका बीच पनि नेपाली पत्रकारहरूले मातृभूमिप्रति जिम्मेवार रहँदै पत्रकारिता गरिरहेको सन्देश सम्मेलनले विश्वसामु प्रस्तुत गर्नेछ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले प्रविधिको विकाससँगै नेपालभित्र र बाहिरबाट गरिने पत्रकारिताबीचको दूरी समाप्त हुँदै गएको बताए। उनका अनुसार पत्रकारिता अहिले विश्वव्यापी स्वरूपमा विकसित भइसकेको छ र डायस्पोरामा सक्रिय पत्रकार तथा उनीहरूका माध्यमबाट भइरहेको पत्रकारिता नेपाली समुदायका लागि मात्र होइन, नेपालका लागि पनि उत्तिकै महत्त्वपूर्ण बन्दै गएको छ।

नेपाल पत्रकार महासंघ जापान शाखाले सम्मेलनलाई विश्वभरका नेपाली पत्रकारलाई एउटै साझा मञ्चमा जोड्ने ऐतिहासिक अवसरका रूपमा लिएको छ। सम्मेलनले नेपाली सञ्चारकर्मीबीचको आपसी सम्बन्ध सुदृढ गर्नुका साथै संस्थागत विकास, अनुभव आदान-प्रदान र व्यावसायिक क्षमता अभिवृद्धिमा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रको समेत उल्लेखनीय सहयोग रहेको आयोजकले जनाएको छ। जापानको अग्रणी फिनटेक कम्पनी डिजिटल वालेट कर्पोरेसनअन्तर्गत सञ्चालित स्माइल्स मोबाइल रेमिटेन्स र स्माइल्स कनेक्ट मुख्य कार्यक्रम साझेदार रहेका छन्। साथै, फ्रन्टअप ई-सिम सहित अन्य प्रायोजक तथा सहयोगी संस्थाप्रति आयोजकले आभार व्यक्त गरेको छ।

आयोजकका अनुसार सार्वजनिक र निजी क्षेत्रबीचको सहकार्यले प्रवासी पत्रकारिताको विकासलाई थप सशक्त बनाउँदै नेपाली सञ्चार क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ।

 

सिफारिस