डुडुवा गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न, ५ बुँदे प्रतिबद्धता सार्वजनिक

दियोपोस्ट संवाददाता  

नेपालगञ्ज । डुडुवा गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ५ बुँदे साझा सार्वजनिक प्रतिबद्धता सार्वजनिक गरिएको छ। प्रतिबद्धताअनुसार वडा नं. ५ को अधुरो सडक आगामी आर्थिक वर्षमा निर्माण गरिनेछ। आवागमन सहज बनाउन आवश्यक स्थानमा ग्राभेल खसालिनेछ। वडा नं. ६ हिरमिनियाको मुनासिपुर सडकमा पनि आगामी आर्थिक वर्षमा ग्राभेल गरिनेछ।

यसैगरी, प्रक्रियाअनुसार माग गरिएका सार्वजनिक सूचना नागरिकलाई उपलब्ध गराइने, गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको गुणस्तर सुधार गरिने र विगतमा भएको आगजनी घटनाको छानबिन गरिने प्रतिबद्धता जनाइएको छ।

सार्वजनिक सुनुवाइमा २५० भन्दा बढी नागरिक सहभागी थिए। खुला छलफलका क्रममा सहभागीहरूले सुकुम्बासी समस्या, अलपत्र खानेपानी आयोजना, सडक ग्राभेल, वडा नं. ५ स्वास्थ्य चौकीमा ल्याब कर्मचारीको अभाव, नागरिकसम्म सूचना नपुगेको अवस्था तथा वडा नं. १ को हिरमिनियास्थित खडैचा टोलको सडकको अवस्थाबारे गुनासा राखेका थिए।

करिब तीन घण्टा चलेको छलफलमा उठेका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले दिएका थिए।

कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए। कार्यक्रमको सहजीकरण बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माले गरेका थिए।

सिफारिस