काठमाडौँ । देशको सबैभन्दा पुरानो र ठूलो सरकारी अस्पताल, वीर अस्पताल (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान) मा कार्यरत एक वरिष्ठ चिकित्सकले अनधिकृत रूपमा ‘छाया निर्देशक’ बनेर आतंक सिर्जना गरेको खुलासा भएको छ । अस्पतालको मुटुरोग विभागमा नवौँ तहमा कार्यरत सह(प्राध्यापक डा. दीपक कुमार मिश्रले निमित्त निर्देशकलाई दबाबमा राखी खरिद, लेखा, प्रशासन र स्टोर शाखामा एकलौटी कब्जा गरेको आरोप लागेको हो ।
मिश्रले मेडिकल माफियासँगको मिलेमतोमा अवैध सम्पत्ति आर्जन, गैरकानुनी लगानी र बिचौलियाको भूमिका खेलेको आरोप छ । उनीविरुद्ध प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय सतर्कता केन्द्रमा कानुनी कारबाहीका लागि उजुरी दर्ता भएको छ ।
‘अस्पताल सुधार जेनजि अभियान’का तर्फबाट वीर अस्पतालमा उपचार गराउँदा पीडित भएका एक अभियान्ताले गत २०८३ असार ३१ गते अख्तियारमा दर्ता गराएको उजुरीमा डा. मिश्रको अवैध धन्दाको फेरिस्त प्रस्तुत गरिएको छ ।
करोडौँको कमिसन धन्दा र बजेट फ्रिज:
अख्तियारमा दर्ता भएको उजुरी विवरण अनुसार डा. मिश्रले वीर अस्पतालमा सामान आपूर्ति गर्ने व्यापारीहरूबाट १२ देखि १३ प्रतिशतसम्म कमिसन असुल गरिरहेका छन् । कमिसन नबुझाउने व्यापारीहरूको भुक्तानी रोक्न उनले लेखा शाखामा अनुचित दबाब दिने गरेको र आफ्ना निकटका व्यापारीलाई ठेक्का दिलाउन हालै मात्र चालु आर्थिक वर्षको २३ करोड रुपैयाँ बजेट नियतवश समर्पण (फ्रीज) गराएको आरोप लागेको छ ।
गत असारको पहिलो हप्ता मात्र अक्सिजन, चिया खाजा, फोहोरमैला व्यवस्थापन, लिफ्ट मर्मत, प्लास्टिक झोला खरिद र करार भुक्तानीका फाइलहरू फुकुवा गरेबापत उनले २२ लाख ५० हजार रुपैयाँ बिचौलिया रकम बुझेको उजुरीमा उल्लेख छ । त्यस्तै, गत हप्ता अस्पतालले गरेको करोडौँको भुक्तानी वापत डा. मिश्रले ललितपुरको एक नाम चलेको होटलमा व्यापारीलाई बोलाएर थप २३ लाख रुपैयाँ नगद कमिसन बुझेको दाबी गरिएको छ ।
हतियार र गुण्डागर्दीको भरमा कर्मचारीलाई धम्कीः
अस्पताल स्रोतका अनुसार डा. मिश्रले आफ्नो मुख्य कार्यकक्ष छाडेर दिनभर निर्देशकको कार्यालयमा बसी खरिद र स्टोरका फाइलहरू जवरजस्ती जाँच गर्ने गरेका छन् । उनको यो बिचौलिया कार्यको विरोध गर्ने कर्मचारी र चिकित्सकहरूलाई उनले गृह मन्त्रालय र प्रहरी प्रशासनमा आफ्नो सेटिङ रहेको भन्दै सीआईबी लगाएर झुटा मुद्दा र लागुपदार्थ हालेर फसाइदिने धम्की दिने गरेको आरोप छ ।
अस्पताल परिसरमै ‘मसल म्यान’(गुण्डाहरू) घुमाएर कर्मचारीलाई मानसिक तनाव दिने गरिएको समेत लेखा र स्टोरका कर्मचारीहरूले बताएका छन् ।
यसको प्रत्यक्ष असर अस्पतालको सेवामा परेको एक कर्मचारीले बताए । हाल वीर अस्पतालमा अत्यावश्यक औषधिको चरम अभाव रहेको र न्यूरो र युरो ओटी (अपरेशन थियटर)का उपकरणहरू बिग्रेर बिरामी अलपत्र परेकोे उनले बताए । तर, डा. मिश्रले कमिसन आउने विलासी र अनावश्यक सामान मात्र स्टोरमा थुपार्न दबाब दिने गरेको कर्मचारीहरूको आरोप छ ।
कानुन विपरीत श्रीमती र आफ्नो नाममा निजी कम्पनीः
नेपालको बहालवाला ऐन र कानुनलाई धज्जी उडाउँदै डा. मिश्र र आफ्नी श्रीमती नताशा मिश्रको नाममा स्वार्थ बाझिने गरी दुईवटा निजी स्वास्थ्य संस्थाहरू दर्ता गरी सञ्चालन गरिरहेको प्रमाण फेला परेको छ । ललितपुर महानगरपालिका वडा नं. २८ मा दर्ता भएका ‘रेड प्लस हेल्थ प्राइभेट लिमिटेड’(दर्ता नं २६४०११) र ‘इनोभा हार्ट एण्ड हेल्थ केयर सेन्टर प्रा.लि.’(दर्ता नं. २४७३२०) मा डा. मिश्र आफैँ र उनकी श्रीमती अध्यक्ष तथा सञ्चालकका रूपमा रहेका छन् । यी कम्पनीहरूको मुख्य उद्देश्य स्वास्थ्य क्लिनिक चलाउने र सरकारी अस्पतालहरूको बोलपत्र (टेन्डर) मा सहभागी हुने रहेको छ ।
दर्जनौँ ऐन र आचारसंहिताको उल्लंघनः
बहालवाला राष्ट्रसेवक सरकारी कर्मचारी र प्रतिष्ठानको शिक्षक (सह(प्राध्यापक) समेत रहेका डा. मिश्रको यो कार्य नेपालको स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९, भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १४, निजामती सेवा ऐन २०४९ को दफा ४८(क) र राष्ट्रिय सदाचार नीति २०८३ को पूर्ण उल्लंघन हो । सरकारी स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले निजी क्लिनिक, अस्पताल वा नर्सिङ होम खोल्न र व्यापार व्यवसायमा हिस्सेदार बन्न पूर्ण प्रतिबन्ध छ ।
उजुरीकर्ताले डा. मिश्रले प्रबन्धपत्रमा आफैँले हस्ताक्षर गरी कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको सेयर लगत, सञ्चालक पत्र र श्रीमती अध्यक्ष रहेको प्रमाणहरू समेत अख्तियारमा बुझाएका छन् । चिकित्सा क्षेत्रलाई नै बदनाम गराउने र गरिब बिरामीको उपचार पाउने हक खोस्ने यस्ता अधिकारीमाथि तत्काल सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ ।