स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित डोल्पामा दुई जना पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका-१ त्रिपुराकोटबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। ठूलीभेरी नगरपालिका-७ का ३२ वर्षीय विष्णुलाल रोकाया र ४२ वर्षीय भक्तिचन्द्र रोकाया पक्राउ पर्नेमा हुन्।

ठूलीभेरी नगरपालिका-३ दुनैबाट त्रिपुरा सुन्दरी नगरपालिका-७ छल गाउँतर्फ जाँदै गरेको भे १३ प ९२६५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। उनीहरूले बोकेको झोलाबाट स्रोत खुल्न नसकेको ५५ लाख ९० हजार रुपैयाँ फेला परेको सशस्त्र प्रहरीको भनाइ छ।

भेरी करिडोर सडकखण्डअन्तर्गत त्रिपुराकोटमा सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पा, नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले चेकपोस्ट स्थापना गरी सवारीसाधनको नियमित जाँच गरिरहेको थियो। सोही क्रममा मोटरसाइकलमा सवार दुवै जनालाई नगद रकमसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी चौकी त्रिपुराकोटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सिफारिस