काठमाडौँ । रुपन्देहीको ओमसतिया गाउँपालिका-२, सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा बुटवल उपमहानगरपालिका-३ निवासी ३० वर्षीय सहचालक सन्दीप बराल गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको भिम अस्पताल, भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सिद्धार्थनगर नगरपालिका-८ निवासी ५० वर्षीया कृष्णकुमारी बेलबासे, ३४ वर्षीया श्रद्धा जोशी, शिवराज नगरपालिका-२ निवासी १९ वर्षीय प्रकाश गाहा, सिद्धार्थनगर नगरपालिका-३, दरखसवा निवासी २६ वर्षीय कुलदीप गुप्ता, मर्चवारी गाउँपालिका-७, बडवलियाकी ५५ वर्षीया शाहाबुन निसा, पाल्पाको रिब्दीकोट गाउँपालिका-६ निवासी ३८ वर्षीय सुनिल थापा तथा नवलपरासीको सुनवल नगरपालिका-६ निवासी ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएका छन्।
घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।