काठमाडौँ । विदुर नगरपालिका र बट्टार जोड्ने त्रिशूली बजार नजिकैको नयाँ पुलबाट हाम फोलेर एक व्यक्ति वेपत्ता भएका छन् । नुवाकोटको विदुर नगरपालिका–१० गेर्खुका अन्दाजी ३५ वर्षीय श्यामबहादुर मग्राती त्रिशूली नदीमा हामफालेर बेपत्ता भएका हुन् ।
मग्रातीले बिहीबार दिउँसो १ः१० बजेको समयमा उनले नदीमा हामफालेको प्रहरीले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार पुलको बीच भागबाट अचानक नदीमा हामफालेका मग्राती तत्कालै पानीको तीव्र बहावसँगै बेपत्ता भएका थिए ।
घटना लगत्तै स्थानीयवासी र नेपाल प्रहरीको टोलीले घटनास्थल पुगेर खोजतलास सुरु गरेको छ । यद्यपि, नदीमा पानीको बहाव उच्च रहेका कारण खोजी कार्यमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार मग्रातीले नदीमा हामफाल्नुको कारण अझै खुल्न सकेको छैन । उनको पारिवारिक अवस्था, मानसिक तनाव वा अन्य कुनै कारण थियो भन्नेबारे बुझ्न प्रहरीले आफन्तजनसँग सोधपुछ सुरु गरिसकेको छ ।
हाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्ताहरूको सहयोगमा नदीको तल्लो तटीय क्षेत्रहरूमा बेपत्ता मग्रातीको खोजी कार्य तीव्र पारिएको छ ।