साउन ११ गतेदेखि उच्च अदालत पाटनमा सम्पूर्ण फाँट तथा शाखाका मुद्धाहरूको नियमित सुनुवाइ सुरु हुने

दियोपोस्ट संवाददाता  

काठमाडौँ, ३२ असार । उच्च अदालत पाटनले विभिन्न प्रकृतिका मुद्दाहरूको पेशी तथा नियमित सुनुवाइ सम्बन्धी नयाँ तालिका सार्वजनिक गरेको छ।

अदालतको पेशी व्यवस्थापन समितिको गत असार २३ गतेको निर्णयानुसार साउन महिनाको विभिन्न मितिबाट वर्गीकरण गरी सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो। जसअनुसार आगामी साउन १ गतेदेखि बन्दीप्रत्यक्षीकरणको रिट एवं एकल इजलासबाट सुनुवाइ हुने रिट निवेदनहरूको नियमित सुनुवाइ सुरु हुनेछ।

यसैगरी, अन्तरिम आदेश छलफलका लागि पेस हुने रिट निवेदन तथा पूरकको रूपमा पेस हुने अन्य मुद्दा र निवेदनहरूको सुनुवाइ साउन ६ गतेबाट तथा निवेदन/प्रतिवेदन सहितका कैफियत प्रतिवेदनहरूको सुनुवाइ साउन ७ गतेबाट सञ्चालन गरिनेछ। साउन ११ गतेदेखि भने अदालतका सम्पूर्ण फाँट तथा शाखामा रहेका रिट तथा मुद्दाहरूको नियमित सुनुवाइ सुचारु हुनेछ।

यी उल्लेखित सेवाबाहेक अदालतबाट प्रवाह हुने अन्य सम्पूर्ण नियमित सेवाहरू भने साविक बमोजिम नै सुचारु रहने अदालतको प्रशासन शाखाले जनाएको छ।

 

uchch adalt patan
uchch adalt patan

सिफारिस