बाढीले बगाएर खोटाङमा २ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

कठमाडौँ । शनिबार साँझ परेको अविरल वर्षापछि आएको बाढीका कारण खोटाङमा दुई जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न स्थानमा खोलाखोल्सीमा आएको बाढीले बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको ज्यान गएको हो।

नेर्पाका वडाध्यक्ष माधव राईका अनुसार शान्ता राई आफन्तको घरबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी थिइन्। खोजी गर्ने क्रममा उनको शव स्थानीय छाँगे खोलामा फेला परेको हो। वडाध्यक्ष राईले उनलाई बाढीले बगाएको जानकारी दिए।

त्यसैगरी, गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा पर्शुराम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताए। खोजतलासका क्रममा उनको शव घटनास्थलदेखि करिब १०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै शवको पोस्टमार्टम प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ।

सिफारिस