
काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले ‘युवा मस्तिष्क र इन्जिनियरिङः समृद्ध नेपालको निर्माण’ भन्ने मूल नारासहित ६४औँ इन्जिनियर्स दिवस विविध प्राविधिक तथा औपचारिक कार्यक्रमका साथ भव्य रूपमा मनाउने भएको छ।
एसोसिएसनका महासचिव विनोद प्रकाश पण्डितका अनुसार श्रावण ३ गते (शनिबार) ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। बिहान १०ः०० बजेदेखि सुरु हुने कार्यक्रममा दिनभर विभिन्न प्राविधिक सत्र सञ्चालन गरिनेछ भने दिउँसो ३ः०० बजेदेखि मुख्य समारोह आयोजना हुनेछ।
एसोसिएसनले इन्जिनियरिङ पेशाको गरिमा अभिवृद्धि, युवा इन्जिनियरलाई प्रेरित गर्ने तथा समृद्ध नेपालको निर्माणमा इन्जिनियरहरूको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यका साथ यस वर्षको इन्जिनियर्स दिवस मनाउन लागेको जनाएको छ।
कार्यक्रमअन्तर्गत बिहान १०ः३० बजेदेखि ‘युवा मस्तिष्क र इन्जिनियरिङः समृद्ध नेपालको निर्माण’ विषयमा प्रमुख प्राविधिक सत्र सञ्चालन हुनेछ। त्यसपछि राष्ट्र निर्माणमा व्यावसायिक इन्जिनियरिङ संस्थाहरूको भूमिका, भवन संहिता, भू-प्राविधिक इन्जिनियरिङ, विपद् जोखिम न्यूनीकरण, परामर्श इन्जिनियरिङ, ऊर्जा सुरक्षा, पुल इन्जिनियरिङ तथा मूल्याङ्कनलगायत समसामयिक विषयमा विज्ञहरूको प्रस्तुति र अन्तरक्रिया हुने कार्यक्रम रहेको प्राविधिक सत्रका सदस्य-सचिव इन्जिनियर सञ्जय कुमार साहले जानकारी दिए।
यी प्राविधिक सत्रहरू नेपाल इन्जिनियरिङ परिषद् तथा विभिन्न पेशागत इन्जिनियरिङ संस्थासँगको सहकार्यमा सञ्चालन गरिनेछ।
दिउँसो ३ः०० बजेदेखि सुरु हुने मुख्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ। समारोहका अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रपति पौडेलले विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
यसै अवसरमा इन्जिनियरिङ तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १० जना उत्कृष्ट इन्जिनियरलाई सम्मान गरिनेछ। सम्मानित व्यक्तित्वहरूलाई राष्ट्रपतिबाट सम्मानपत्र तथा पदक प्रदान गरिने आयोजकले जनाएको छ।
औपचारिक कार्यक्रमको समापनपछि विभिन्न ब्याण्डको सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।