
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ। काठमाडौं राउण्ड टेबल-१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा निर्माण भइरहेको उक्त भवनका लागि कम्पनीले सहयोग उपलब्ध गराएको हो।
निर्माण सम्पन्न भएपछि उक्त आवासीय भवनमा ६० जना सम्म दृष्टिविहीन बालबालिकाले सुरक्षित, सहज र स्नेहपूर्ण वातावरणमा बसोबास गर्न सक्नेछन्। भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका आवश्यक सुविधा, ब्रेल पुस्तकालय, संगीत कक्षलगायत आवासीय तथा शैक्षिक पूर्वाधारको व्यवस्था गरिएको छ। यसअघि त्रिनेत्र फाउन्डेसनले सीमित स्रोत-साधनका बीच सानो भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको थियो। नयाँ भवन सञ्चालनमा आएपछि दृष्टिविहीन बालबालिकालाई गुणस्तरीय आवास, शिक्षा र जीवनोपयोगी सीप प्रदान गर्ने संस्थाको क्षमता उल्लेखनीय रूपमा विस्तार हुने अपेक्षा गरिएको छ।
सहयोग हस्तान्तरणका अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले व्यावसायिक सफलता मात्र नभई समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यलाई पनि आफ्नो सफलताको महत्वपूर्ण आधार मानेर अघि बढिरहेको बताउनुभयो। त्रिनेत्र फाउन्डेसनमार्फत दृष्टिविहीन बालबालिकालाई सुरक्षित आवास, गुणस्तरीय शिक्षा र आत्मनिर्भर जीवनतर्फ अग्रसर गराउने अभियानमा सहकार्य गर्न पाएकोमा कम्पनी गौरवान्वित रहेको उहाँको भनाइ थियो।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुलुकको अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो। कम्पनीले जिम्मेवार व्यावसायिक अभ्याससँगै प्रभावकारी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै जीवन सुरक्षासँगै नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ।