सीआईबीको १६औँ स्थापना दिवस सम्पन्न, अनुसन्धान प्रणाली थप सुदृढ बनाउने प्रतिबद्धता

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आफ्नो १६औँ स्थापना दिवस तथा वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।

ब्यूरोका अनुसार २०६७ साउन १ गतेदेखि सञ्चालनमा आएको सीआईबीले गम्भीर प्रकृतिका अपराधको विशिष्टीकृत अनुसन्धान तथा अन्य प्रहरी कार्यालयलाई अनुसन्धानमा सहयोग गर्ने उद्देश्यका साथ स्थापना भएको हो।

स्थापना दिवसका अवसरमा भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा दुई चरणमा कार्यक्रम आयोजना गरिएको थियो। पहिलो चरणमा संस्थागत अनुभव, विगतको समीक्षा, वर्तमान अवस्थाको मूल्याङ्कन तथा भविष्यको रणनीतिक मार्गचित्रबारे पूर्व ब्यूरो प्रमुखहरूसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको थियो।

दोस्रो चरणमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार मन्त्रालय, सर्वोच्च अदालत, फैसला कार्यान्वयन निर्देशनालय, विभिन्न सरकारी वकिल कार्यालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाइ, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जलगायत विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्षको समेत उपस्थिति रहेको ब्यूरोले जनाएको छ।

कार्यक्रममा सीआईबीका पूर्व प्रमुख, अपराध अनुसन्धान तथा नियन्त्रणमा ब्यूरोसँग समन्वय र सहकार्य गर्दै आएका विभिन्न सरकारी निकाय, साझेदार संस्था तथा सरोकारवालाका प्रतिनिधि, साथै ब्यूरोमा कार्यरत रही अवकाश प्राप्त अनुसन्धान अधिकृतहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।

स्थापना दिवसका अवसरमा सीआईबीले १६ वर्षको अनुभवलाई आत्मसात् गर्दै व्यावसायिक अनुसन्धान प्रणालीको विकास, कानुनी शासनको सुदृढीकरण तथा नागरिकको विश्वास अभिवृद्धिका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित खबर

सिफारिस