
काठमाडौं । काठमाडौंको कीर्तिपुर नजिकैको ट्यांग्लाफाँटमा मंगलबार बिहान गाडीभित्रै जलेका एक पुरुषको शव निकालिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गाडीभित्र जलेका एक पुरुषको शव निकालेर पोस्टमार्टमका लागि अस्पताल पठाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार मंगलबार बिहान गाडीभित्रै जलेका व्यक्ति पुरुष रहेको खुले पनि उनको पहिचान भने अझै खुलेको छैन ।
घटनास्थलमा के देखियो ?
कीर्तिपुर, ट्यांग्लाफाँटका स्थानीयका अनुसार मंगलबार बिहान बा५च ३०३८ नम्बरको सेतो कार एक्कासि आएर रोकियो । कार रोकिएलगत्तै कार भित्रबाट एक्कासी धुवाँको मुस्लो देखियो ।
स्थानीयहरु आगो निभाउन गए पनि उनीहरुले आगो निभाउन सकेनन् । गाडीभित्र एक व्यक्ति देखिएपछि ढोका खोलेर उद्धार गर्न खोजिएको थियो ।
तर आगोको मुस्लोका कारण ढोका खोल्न सम्भव भएन । हेर्दाहेर्दै ती व्यक्ति कारभित्रै जले । पछि स्थानीय बासिन्दा, प्रहरी आदि पुगेर आगो निभाएपनि कारमा रहेका व्यक्तिको मृत्यु भइसकेको थियो । मृतकलाई गाडीको सिट बेल्ट बाँधेको अवस्थामा निकालिएको थियो । गाडी पूर्ण रुपमा जलेको छ ।
प्रहरीले यो आत्मदाह हो कि दुर्घटना हो भनेर अहिले नै भन्न नसकिने जनाएको छ । मृतक व्यक्तिको पहिचानसमेत हालसम्म नखुलेको एसपी भट्टराईले दियोपोस्टलाई बताए ।