
काठमाडौं । मंगलबार बिहान कीर्तिपुरमा आगलागी भएको बा५च ३०३८ नम्बरको कारको धनी सम्बन्धी विवरण खुलेको छ। कारको अभिलेखमा नबिल बैंक धनीका रूपमा रहेको देखिए पनि ऋणीका रूपमा सुरेश श्रेष्ठ र रजनी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार उक्त कार पुरानो भएकाले यसबीचमा नामसारी भइसकेको हुन सक्ने सम्भावना रहेको छ। त्यसैले हाल वास्तविक प्रयोगकर्ता तथा स्वामित्वबारे थप अनुसन्धान भइरहेको छ।
प्राप्त विवरणअनुसार २०६२ सालको अभिलेखमा नबिल बैंक धनी तथा सुरेश श्रेष्ठ र रजनी श्रेष्ठ ऋणीका रूपमा उल्लेख छन्। तर आगलागी भएको समयमा कारमा को सवार थिए भन्ने विषय अझै खुल्न सकेको छैन।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। कारभित्र जलेर मृत्यु भएका पुरुषको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ। मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन।