प्रभु बैंककी बिजनेस अफिसर रश्मि पन्त पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । बहुचर्चित प्रभु बैंक वित्तीय अपराध प्रकरणमा लामो समयदेखि फरार रहेकी बिजनेस अफिसर रश्मि पन्त पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पन्तलाई बुधबार त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत विभिन्न मुद्दामा उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएकी पन्तलाई सीआईबीको टोलीले पक्राउ गरी बुधबार नै काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।

सिआइबीका अनुसार पन्तमाथि प्रभु बैंकबाट रुपन्देहीस्थित एसियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरेको ४८ करोडको ऋणसँग सम्बन्धित अनियमितताको विषयमा अनुसन्धान केन्द्रित रहनेछ ।

प्रभु बैंकले रिसोर्ट निर्माणका लागि जग्गा खरिद र रिसोर्ट निर्माणका लागि भन्दै एसियन भिलेज रिसोर्ट प्रालिका नाममा ४८ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । तर एसियन भिलेज रिसोर्ट प्रालिले जग्गा खरिद र रिसोर्ट निर्माण नगरी उक्त ऋण कम्पनीका अध्यक्ष शशिधर शर्मा भन्ने शशी शर्मा पौडेलले आफूनिकट व्यक्ति र परिवारका सदस्यहरूको बक्यौता तिर्न, आफ्नै व्यापारिक समूहका अन्य कम्पनीहरूको दायित्व भुक्तानी गर्न खर्च गरिएको थियो ।

त्यसबाहेक ऋण प्रवाह गर्ने क्रममा बैंकका नाममा धितोमा राख्नुपर्ने जग्गा वा सम्पत्ति तत्काल बैंकको नाममा नराखी पछि बन्धक राख्ने प्रतिबद्धताका आधारमा ऋण प्रवाह भएको पाइएको थियो ।

प्रस्तावित रिसोर्टका अध्यक्ष शशिधर शर्मा पौडेललाई यसअघि नै सीआईबीले पक्राउ गरी अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानमा यो प्रकरणमा रश्मि पन्तको समेत संलग्नता देखिएपछि उनीमाथि पनि अनुसन्धान हुन लागेको हो ।

पुराना मुद्दामा पनि संलग्नता
पन्तको पक्राउले प्रभु बैंक प्रकरणमा नयाँ मोड ल्याएको छ । दियोपोस्ट डटकमले यसअघि नै प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन, डेपुटी सिइओ मणिराम पोखरेललगायतका विरुद्ध उच्च अदालत पाटनमा दर्ता भएका मुद्दामा रश्मि पन्तको समेत संलग्नताको खुलासा गरिसकेको थियो ।

उच्च अदालत पाटनमा दर्ता भएका तीन वटा भिन्न बैंकिङ कसुरका मुद्दामा राम जानकी हेल्थ फाउन्डेसन र इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेनरीको नाममा भएको १ अर्ब ६ करोडभन्दा बढीको कर्जा दुरुपयोगमा रश्मि पन्तलाई पनि प्रतिवादी बनाइएको थियो । उक्त मुद्दामा विशेष सरकारी वकिल कार्यालयले १३ करोड रुपैयाँ बिगो कायम गर्दै पन्तसहित अन्य अभियुक्तहरू विरुद्ध कैद र जरिवानाको माग दाबी गरेको थियो । अदालतले पुर्पक्षका लागि थुनामा रहने आदेश दिए पनि पन्त हालसम्म फरार थिइन् ।

ढाकछोप र ‘ब्ल्याकआउट’ को रहस्य
प्रभु बैंक प्रकरणमा सिइओ शेरचन पक्राउ पर्दा अधिकांश ठुला सञ्चार माध्यमहरूले समाचारलाई प्राथमिकता नदिएको र ‘ब्ल्याकआउट’ गरेको घटना बाहिर आएको थियो । विशेष गरी केही अनलाइन सञ्चारमाध्यमले प्रहरी अनुसन्धान र राष्ट्र बैंकको प्रतिवेदनको विपरीत, अभियुक्तहरूको पक्षमा समाचार उत्पादन, प्रकाशन तथा प्रसारणसमेत गरेका थिए । दियोपोस्टको खोजमा त्यसरी प्रभु बैंकको पक्षमा वकालत गरिनुमा बैंकले ती मिडिया हाउसहरूमा करोडौँ रुपैयाँको ऋण र सोही अनुपातमा विज्ञापन सम्झौता गरेको पाइएको थियो ।

रोचक तथ्य के छ भने, फरार अभियुक्त रश्मि पन्तलाई बैंकिङ कसुर मुद्दामा प्रतिवादी बनाइएको अवधिमै ‘एक अनलाइनले ‘४० वर्ष मुनिको प्रभावशाली युवा’ सूचीमा राखी प्रचारप्रसार गरेको थियो भने अर्को अनलाइनले ‘नसोचेको क्षेत्रमा सिल्डनकी पात्र जस्ती रश्मि’ शीर्षकमा प्रशंसात्मक स्टोरीसमेत प्रकाशन गरेको थियो ।