उपत्यकाको फोहोर आजबाट उठ्ने

दियो पोस्ट  

काठमाडौँ,  असार १६ । फोहोर विसर्जन गर्ने स्थान ककनी गाउँपालिका–२ स्थित सिसडोलका बासिन्दाले फोहोर फाल्न नदिएपछि प्रदूषित बनेको राजधानी सहर सोमबारदेखि सफा हुने भएको छ । 
आइतबार स्थानीय बासिन्दा र महानगरका पदाधिकारीबीच भएको वार्तामा १५ दिनभित्र समस्या समाधान गर्ने सहमति भएपछि सोमबारदेखि फोहोर उठाउने र फाल्ने काम सहज हुने भएको हो । फोहोरका कारण विगत केही दिनयता राजधानी निकै प्रदूषित बन्यो । असार १० गतेयता घरघरबाट फोहोर नउठ्ने र सडकमा थुप्रिएको फोहोर पनि उठ्न छाडेको थियो । 
महानगर प्रमुख विद्यासुन्दर शाक्य, प्रशासकीय प्रमुख, नगर प्रहरीका डीएसपी, सम्बन्धित तीन वडाका अध्यक्ष तथा स्थानीय सङ्घर्ष समितिका सदस्यसहित आइतबार दिनभर चलेको वार्तामा तीनबँुदे सहमति भएको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । 
उहाँका अनुसार १५ दिनभित्र समस्या समाधान गर्न समिति गठन गर्ने र प्रभावित क्षेत्रका बासिन्दाको जग्गा अधिग्रहण र क्षतिपूर्ति दिनेसम्बन्धी सहमति भएको हो । “फोहोरले मानिसको स्वास्थ्यमा असर पुग्यो, खेती भएन, घरपालुवा जनावर मरे, त्यसैले प्रभावित क्षेत्र आसपासका सबै निजी जमिन किनिदिनु प¥यो” भन्ने लगायतका माग स्थानीयले राखेको उहाँले जानकारी दिनुभयो । 
सङ्घर्ष समितिका सल्लाहकार ज्ञानेन्द्रप्रसाद गजुरेलले आफूहरूले राखेको १५ बुँदे मागको सम्बन्धमा महानगर सकारात्मक देखिएपछि फोहोर फाल्न दिने सहमति गरेको बताउनुभयो । सहमतिअनुसार प्रशासकीय प्रमुखको अध्यक्षतामा वातावरण व्यवस्थापन विभाग प्रमुख, प्रभावित तीनवटा वडाका अध्यक्ष र स्थानीयको सहभागिता रहेको समिति आइतबार नै गठन भएको छ । गोरखापत्र दैनिकबाट

सिफारिस