
काठमाडौँ, असार १७ । चितवनबाट प्रहरीले २२० केजी गाँजा बरामद गरेको छ । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले गए राति ३ बजे पूर्वी चितवनको राप्ती नगरपलिका–४ स्थित भवानीपुरमा ना ४ ख २२९५ नंको टिपरमा लोड भएको अवस्थामा चालकसहित २२० केजी गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए ।
बरामद गाँजा, टिपर र चालकलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको आचार्यले बताए । इलाका प्रहरी कार्यालय भण्डाराले गाँजा तस्करविरुद्धको अभियानलाई जारी राखेको छ ।
२०७६ वैैशाखदेखि अहिलेसम्म विभिन्न समयमा ४०० केजी गाँजा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार धादिङ र मकवानपुरको सिमानामा पर्ने विकट बस्तीमा लुकीछिपी गाँजाखेती तथा तस्करी बढी हुन्छन् । विकट बस्तीका कारण प्रहरीको पहुँच कम हुने यस ठाउँमा तस्करले गाँजाखेती गर्न लगाउने गरेको निरीक्षक आचार्यको भनाइ छ । प्रहरीले गाँजा फडानी गर्ने र लुकाइछिपाइ राखेकोलाई खोजी गरी नष्ट गर्ने अभियानलाई तीव्रता दिएको छ ।