साउदी विमानस्थलमा फेरि आक्रमण,भारतीय नागरिकसहित ९ जना घाइते

दियो पोस्ट  

रियाद, साउदी अरेबियाको दक्षिणमा अवस्थित अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले फेरि आक्रमण गरेको साउदी सरकारले जनाएको छ । उक्त आक्रमणबाट नौ जना सर्वसाधारण घाइते भएका छन् ।

यमनका विद्रोही विरुद्ध संघर्षरत साउदी गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल मलिकीले घाइतेमध्ये आठ जना साउदी नागरिक रहेको जानकारी दिए । अर्का घाइते व्यक्ति भारतीय नागरिक हुन् । उनले घाइतेहरु सबैलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

यो विमानस्थलमाथि हुथी विद्रोहीहरुले पटक–पटक आक्रमण गरेका छन् । गत महिना भएको यस्तै आक्रमणमा एकजना सिरियाली नागरिकको ज्यान गएको थियो भने अरु सात जना घाइते भएका थिए ।

प्रवक्ता अल मलिकीले अन्तर्राष्ट्रिय मानवीय कानुन बमोजिम सुरक्षित गरिएका निहत्था नागरिकमाथि नै हुथी विद्रोहीले आक्रमण गरिरहेको बताए ।

नागरिक र उनीहरुको सम्पत्ति सुरक्षाका लागि गठबन्धनले हुथी विद्रोही विरुद्ध जस्तोसुकै कारबाही गर्न सक्ने पनि मलिकीले बताए ।

पछिल्ला दिनहरुमा साउदी अरेबियाका दक्षिणी क्षेत्रमा रहेका विमानस्थलहरुमा हुथी विद्रोहीहरुले मानवविहीन बिमान ९ड्रोन० बाट आक्रमण गरिरहेका छन् । सिन्ह्वा