लिवियाबाट सन्तोषको शव ल्याउने प्रक्रिया झन्झटिला, रेडक्रस र आइओएमले सहयोग गर्ने

दियो पोस्ट  

काठमाडौं । गएको मंगलबार राति लिबियामा आप्रवासीको शिविरमा गरिएको आक्रमणमा मारिएका नेपाली नागरिक सन्तोष श्रेष्ठको शव नेपाल ल्याउन अझै केही समय लाग्ने भएको छ । सो घटनामा नेपालीसमेत ५३ जना आप्रवासीको मृत्यु भएको थियो ।

लिबिया मामिलासमेत हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुजन बिडारीले सोमबार बाह्रखरीसँगको कुराकानीमा शव नेपाल पठाउने प्रक्रिया लामो भएकोले केही समय लाग्ने बताए । उनले शव पठाउन सहयोगका लागि नेपाली दूतावास कायरोले इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन –आईओएम० र अन्तरराष्ट्रिय रेडक्रसलाई अनुरोध गरेको तथा उनीहरुले सकारात्मक जवाफ दिएको जानकारी दिए ।
गत महिना जोर्डनमा बार्दली सफा गर्न जाने क्रममा एक नेपाली महिलाको मृत्यु भएकोमा अझै शव पठाउने प्रक्रिया पूरा भइनसकेको जनाउँदै उनले भने, ‘‘यसका लागि प्रक्रिया पूरा गर्न नै ढिला हुने रहेछ । तर, प्रक्रिया अगाडि बढेको छ । लिबियाको सन्दर्भमा पनि केही समय लाग्न सक्छ ।’’

लिबियामा अनेकथरी समस्या भएको जनाउँदै कार्यवाहक राजदूत बिडारीले लिबियालीहरु नै देश छोडेर बाहिर जान इच्छुक भएको र कैयौं युरोप छिर्ने क्रममा डुंगा दुर्घटनामा पनि परेको उल्लेख गरे । यो मामिला आईओएम र रेडक्रसले नै हेरिरहेकाले आफूहरुले दबाब दिने अवस्था पनि नरहेको उनले बताए ।

कार्यवाहक राजदूत बिडारीले शव नेपाल पठाउन कन्सुलरको कार्यालयका तर्फबाट सन्तोषका परिवारका सदस्यले आवेदन हालिसकेको र परिवारका सदस्य सम्पर्कमै रहेको समेत जानकारी दिए । लमजुङ जिल्लाको चिती—८ तीनपिप्ले घर भएका सन्तोष इटाली जाने क्रममा लिबियामा रोकिएको बेलामा नै गएको मंगलबार त्यहाँको विद्रोही समूहको आक्रमणमा परी मारिएका हुन् । उनी इटाली जाने भनेर सन् २०१९ को जनवरी १६ का दिन लिबिया पुगेका थिए ।

सो घटनापछि ८ जना नेपाली फर्किसकेका छन् भने शिव बीके, अर्पण अधिकारी, चित्र ओली, ललित साउद, राजकुमार बस्नेत र रमेशकुमार मिश्र समेतका ६ जना फर्कने तयारीमा छन् । कार्यवाहक राजदूत बिडारीले फर्किन लागेका ६ जनाको हकमा कुनै समस्या नभएको र उनीहरुको उडान मिलेपछि आईओएमको सहयोगमा नै फर्किने बताए । ‘‘उहाँहरुलाई आईओएमले सस्तो फ्लाइट मिलेको बेलामा पठाइदिन्छ । चिन्ता गर्नुपर्ने अवस्था छैन,’’ उनले भने ।

युरोपमा छुट्टै विवाद

बीबीसीले जनाएअनुसार माल्टाले ६५ जना आप्रवासीको समूहलाई लिबियाबाट आफ्नो भूमि हुँदै उद्धार गर्न अनुमति दिएको छ । प्रधानमन्त्री जोसेफ मस्कटले युरोपेली आयोग र जर्मन सरकारसँगको सल्लाहमा उनीहरुलाई युरोपका अन्य भागमा लगिने जनाएका छन् । यसैगरी माल्टाले अन्य ५० जना आप्रवासीको पनि उद्धार गरेको जनाएको छ ।

जर्मनीका आन्तरिक मामिला सम्बन्धी मन्त्री होस्र्ट सीहोफरले बढीमा ४० जना आप्रवासीलाई आफूले लिने जनाएका छन् । मानवीय हिसाबले बन्दरगाह खोल्न समेत उनले आफ्ना इटालीका समकक्षीलाई आग्रह गरेका छन् । तर, इटालीले भने असन्तोष प्रकट गरेको छ । इटालीले आफूले बन्दरगाह नखोल्ने जनाएको छ ।

सिफारिस