कुमार पौडेल हत्या : सांसदको प्रश्न, ‘हत्याको छानबीन हत्याराले गरेपछि मृतक दोषी ठहर्छ’

दियो पोस्ट  

काठमाडौं, २४ असार । सर्लाहीका कमार पौडेल हत्या प्रकरणमा आज पनि व्यवस्थापिका संसदमा सांसदहरुले निकै चर्को प्रश्न उठाए ।


गृहमन्त्री राम बहादुर थापाले छानबीन समितिले तयार पारेको प्रतिवेदन पढेर सुनाएपछि सांसदहरुले गृहमन्त्रीको चर्को विरोध गरेका छन् । गृहमन्त्री थापाले उक्त घटनामा प्रहरीको जवाफी कारबाहीमा कुमार पौडेलको मृत्यु भएको दोहोर्याएका थिए ।


‘माननीय गृहमन्त्रीले भन्नु भया,े ‘जम्काभेट भयो । जम्काभेटका क्रममा कुमार पौडेलका साथीहरुले फायरिङ गर्दै गए । म प्रश्न गर्न चाहान्छु । जसले फायर गर्यो उसलाई पक्राउ गर्न नसक्ने । जो गोली हान्दै भाग्यो उसलाई पक्राउ गर्न नसक्ने यो के हो, ?’ पूर्व गृहमन्त्री देवेन्द्रराज कँडेलले भने,‘उसको हात विभिन्न ठाउँमा भाँचिएको छ । उसको हातमा हतियार देखाएर इन्काउन्टर देखाउने ?’


नेपाली कांग्रेसका अर्का सांसद मिन विश्वकर्माले हत्यारालाई नै छानबीन गर्न दिएको दाबी गरे ।
‘हत्याको छानबीन गर्न हत्यारालाई दिइयो भने मृतक दोषी ठहर्छ । आज कुमार पौडेल नै दोषी ठहरिएको गृहमन्त्री ज्युको जवाफ आयो । जसले गोली हान्यो उसैले छानबीन गर्यो । गृहमन्त्रीको हातमा प्रतिवेदन थमाइदियो कुमार पौडेल दोषी ठहरियो,’ विश्वकर्माले भने,‘यस्तो झूट प्रतिवेदन संसदमा पेश गर्नु भनेको यो सरकार एकाउन्टेवल भएन । सरकार एकाउन्ट र टेबुल छुट्टै राखेर भ्रष्टाचार गरिराखेको छ ।’