बर्दियाको खन्ना खोलामा पौडी खेल्न गएका १० र ५ बर्षका दुई बालकको डुबेर मृत्यु

दियो पोस्ट  

बर्दिया, २५ असार । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका(३ सिरकैयाका १० वर्षीय विकास बञ्जरा र सोही ठाउँका ५ वर्षीय अनिल बञ्जरा रहेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ ४ बजेतिर घरदेखि एक किलोमिटर टाढा रहेको खन्न बाबा खोलामा साथीसँग पौडी खेल्ने क्रममा दुवै बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि खैरापुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीय खोजीकार्यमा जुटेका थिए ।

घटनास्थलबाट ५० मिटर टाढा साँझ ६ बजेतिर दुवै बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए ।रासस