काठमाडौँ, असार २७ । एक अफ्रिकी नागरिकले पूर्वाञ्चल विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्र लिएको भेटिएको छ । दक्षिण अफ्रिकाका तिलाहुन गन मुलुसेवाले बिई–सिई (ब्याचलर इन इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ)को नक्कली सर्टिफिकेट लिएको फेला परेको हो ।
मुलुसेवाको सर्टिफिकेटमा उनले काठमाडौंको सीतापाइलास्थित एक्मी इन्जिनियरिङ कलेजमा अध्ययन गरेको उल्लेख छ । एक्मी पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेज हो । सर्टिफिकेटमा विश्वविद्यालयको रजिस्टर नम्बर ०१८–३–२–०११०१–२००४ उल्लेख छ भने विश्वविद्यालयका चान्सलरको हस्ताक्षर छ । तर, नाम भने उल्लेख छैन । उनी सन् २००४ मा कलेज भर्ना भएको सर्टिफिकेटमा उल्लेख छ । बिईको आठ सेमेस्टर अध्ययन गरेका उनी ३ अक्टोबर ००८ मा बिई उत्तीर्ण भएको सर्टिफिकेटमा देखिन्छ ।
प्रहरीको अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी केदार ढकालले शैक्षिक प्रमाणपत्रको सम्बन्धमा अनुसन्धान भइरहेकाले केही भन्न नमिल्ने बताए । उनले भने, ‘प्रमाणपत्रका सम्बन्धमा अनुसन्धान भइरहेको छ । अनुसन्धान जटिल भएकाले यस सम्बन्धमा थप नबोलौँ ।’ एक्मी इन्जिनियरिङ कलेजका प्रधानाध्यापक प्रदीप पौडेलले भने तिलाहुन गन मुलुसेवा नाम गरेको विद्यार्थीले आफ्नो कलेजमा अध्ययन नगरेको बताए । उनले भने, ‘अध्ययन गरेको भन्दै एक विद्यार्थीले लिएको शैक्षिक प्रमाणपत्रमा एक्मी इन्जिनियरिङ कलेजको नाम उल्लेख भएको विषयबारे सोधपुछ भएको हो । उक्त नाम गरेको विद्यार्थी कलेजमा कहिल्यै अध्ययन नगरेको भन्दै हामीले पत्र लेखेका छौँ । पछि विश्वविद्यालयकै रजिस्ट्रारको इमेल नक्कली बनाएर संवाद भएकोसम्म थाहा पाएँ । यसबाहेक अरू थाहा भएन ।’
विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले विश्वविद्यालयको नामबाट जारी शैक्षिक प्रमाणपत्रमा उल्लेखित विद्यार्थीको रेकर्ड विश्वविद्यालयको नभएको बताए । उनले भने, ‘तिलाहुन गन मुलुसेवाले पियूबाट बिईको शैक्षिक प्रमाणपत्र लिए–नलिएको सम्बन्धमा भेरिफाई गर्न मकहाँ पत्र आएको हो । सोही पत्रअनुसार हामीले प्रमाणपत्रमा उल्लेखित विद्यार्थीको रेकर्ड अध्ययन गर्यौँ, तर कतै फेला परेन । त्यसपछि सर्टिफिकेट नक्कली रहेको प्रमाणित भयो । यसमा विश्वविद्यालयकै रजिस्ट्रार प्रमिला थापाको इमेल प्रयोग भएको पाइयो ।’
अनुसन्धानमा संलग्न महाशाखाका एक अनुसन्धान अधिकृतले भने, ‘सुरुमा एउटा मात्रै केस थियो । त्यसैमा केन्द्रित भएर अनुसन्धान गर्दै थियौँ । अहिले अन्य पनि रहस्य खुले । केस निकै जटिल देखिन्छ । यस सम्बन्धमा विश्वविद्यालयलाई समेत पत्राचार गरेका छौँ । जवाफ आएको छैन ।’
रजिस्ट्रार प्रमिला थापा भन्छिन्– मेरो ‘फेक आइडी’ बनाएर मेल पठाएछन्
प्रहरीका अनुसार तिलाहुन गन मुलुसेवाले बिई पास गरेको नक्कली सर्टिफिकेट नेपालबाटै लगे । सोही सर्टिफिकेटकै आधारमा उनले दक्षिण अफ्रिकामा आकर्षक जागिर खाए । पछि उनको सर्टिफिकेटविरुद्ध उजुरी पर्यो र छानबिन थालियो । सर्टिफिकेट ‘भेरिफिकेसन’ गर्न दक्षिण अफ्रिकी सरकारले भारतस्थित आफ्नो दूतावासलाई पत्र लेख्यो । दूतावासले अध्ययन गर्न भारतकै प्रतिष्ठित अध्ययन केन्द्र ‘एएमएस इन्फर्म’लाई भन्यो । एएमएसले पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयलाई सर्टिफिकेट प्रमाणित गर्न चिठी लेख्यो । त्यसपछि विश्वविद्यालयले अध्ययन थाल्यो । प्रमाणपत्रमा उल्लेखित विद्यार्थी विश्वविद्यालयको रेकर्डमा नभेटिएपछि परीक्षा नियन्त्रक प्रा।डा। सूर्यप्रसाद संग्रौलाले सोही व्यहोराको पत्र एएमएसलाई लेखे ।
तर, [email protected] को इमेल आइडीबाट सर्टिफिकेटमा उल्लेखित नाम गरेको विद्यार्थी एक्मी इन्जिनियरिङ कलेजमै अध्ययन गरेको व्यहोराको इमेल एएमएसका प्रतिनिधि बे्रन्डा फ्रोस्टको नाममा गएको अनुसन्धानमा भेटिएको छ । इमेलमा तत्कालीन माओवादीले एक्मी कलेजमा आगो लगाएको र प्रमाणपत्रमा उल्लेखित विद्यार्थीको सम्पूर्ण विवरण आगलागीमा नष्ट भएको उल्लेख छ । मुलुसेवा सन् २००४ मा भर्ना भई २००८ मा पास भएको भन्दै अध्ययन अवधिभर उक्त विद्यार्थी अत्यन्तै मेधावी रहेको इमेलमा उल्लेख छ ।
तर, विश्वविद्यालयका रजिस्ट्रार थापाले भने उक्त इमेल आफ्नो आधिकारिक नभएको दाबी गरिन् । ‘मेरो नाममा कसैले फेक आइडी बनाएर मेल पठाएछन् । त्यो सरासर गलत हो, साइबर अपराध लाग्छ । प्रहरीले पनि यसको अध्ययन गरिरहेको छ । अर्कोतर्फ विश्वविद्यालयको रकेर्डमै सो विद्यार्थी छैन । त्यो जान्दाजान्दै मैले त्यस्तो मेल पठाउने कुरै भएन,’ उनले भनिन् ।