नेपालभर बाढीपहिरोको बबण्डर :१७ जनाको मृत्यु, ८ जना बेपत्ता, १३ जना घाइते

दियो पोस्ट  

काठमाडाैँ ,असार २७ । बिहीवारदेखिको अविरल वर्षाका कारण आइपरेका विपदमा परी काठमाण्डूमा तीन जना सहित नेपालका विभिन्न स्थानमा कम्तीमा १७ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी पहिरोका कारण १५ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार १७ जनाको ज्यान गएको छ।

विभिन्न स्थानमा आठ जना बेपत्ता छन भने १३ जना घाइते छन्। बाढी पहिरोका कारण करिब १२ सय मानिसहरू विस्थापित भएका छन्। उद्धार र विपद् प्रतिकार्यको काम तीव्र बनाइएको अधिकारीहरूको भनाइ छ। जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका अनुसार लगभग पूरै नेपाली भूभागमा अविरल वर्षाको क्रम चलिरहेको छ। त्यो क्रम शनिवार र आइतवार पनि जारी रहने पूर्वानुमान छ।शुक्रवार दिउँसो ४:०४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै आठ जनाको मृत्यु भएकोमा ‘गहिरो दुख’ व्यक्त गरेका छन्। त्यसको केही बेरमा केन्द्रले काठमाण्डूको मुलपानीमा पर्खाल भत्किँदा थप तीन जनाको मृत्यु भएको बताएको छ।

दुई दिनयता देशका अधिकांश भेगमा परिरहेको वर्षाका कारण थुप्रै स्थानमा बाढी र पहिरोको जोखिम देखिएपछि खासगरी तराईका सबैजसो जिल्लालाई उच्च सतर्कतामा राखिएको अधिकारीहरूले बताएका छन्। पहिरोका कारण काभ्रेपलाञ्चोक जिल्लामा दुई, रामेछाप, सिन्धुली र ललितपुरमा एक-एकजनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ। पर्सामा बाढीका कारण एकले ज्यान गुमाएका छन्।खोटाङ्मा दुई, मोरङ र सुनसरीमा एक-एक जना हराइरहेका छन्। मोरङका विभिन्न ठाउँका झण्डै चार सय घरधुरीका एक हजार मानिसहरूलाई अन्यत्र सारिएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधी खनालले बीबीसीलाई बताए।

बिहीवार मुख्य रूपमा प्रदेश नम्बर १, २ र ३ का सबै चुरे क्षेत्रका खोलाहरूमा सचेत गराइएकोमा शुक्रवारबाट ठूला नदीहरूमा समेत खतराको अवस्थामा पानीको तह पुगेको बताइएको छ। “आवश्यक पर्दा सरकारी सहित स्थानीय तहका समुदाय तथा संघसंस्थाका सञ्जाललाई प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ,” केन्द्रका प्रमुख वेदनिधी खनालले थपे।

वर्षा
ओखलढुंगाको भँडारे खोलामा आएको बाढीका कारण यात्रुहरू अलपत्र परेका छन्

कहाँ बढ्यो जोखिम ?

रौतहटको लालबकैयामा बाँध कटाएर बाढीभित्र छिरेको अधिकारीहरूले बताएका छन्। यसअघि नै राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले मेची, निन्दा, विरिङ, मावा-रतुवा, नुनखोला, लोहन्द्रा, बुढीखोला, खेसिलिया, सुनसरी खोला, त्रियुगा, वालन, खुट्टी, चुरिया खोला, खाडो, माहुली, रातो, हर्दी, लगायतका साना नदीहरू आसपासमा सतर्क रहन सूचना जारी गरेको थियो।ती नदीमा जलस्तर बढ्नेगरी पानी पर्ने देखिएकोले ती आसपासका स्थानहरूमा सतर्कता अपनाउन आग्रह गरिएको उक्त सूचनामा भनिएको छ।

वर्षा

वाग्मतीको बहावक्षेत्र अन्तर्गत रौतहट र सर्लाही जिल्लामा नदी सतह खतराको तहमा रहेको, कमला र कन्काई नदीमा बहाव सतर्कता तह नजिक पुगेको र कोशीमा त्यो सतर्क हुनुपर्ने तह नजिक देखिएको केन्द्रद्वारा जारी सूचनामा जनाइएको छ। बिहीवार नै तिनाउ नदीमा समेत पानीको सतह खतराको अवस्थामा पुगेपछि तल्ला भेगमा अर्को दिनसम्म सतर्क रहन भनिएको थियो। “मकवानपुरमा र खोटाङ् जिल्लामा समेत पहिरोको कारण केही घरहरूमा क्षति पुगेको बताइए पनि विस्तृत विवरण आउन बाँकी छ,” नेपाल प्रहरीका निमित्त प्रवक्ता रमेश थापाले बताए।”देशभरबाट अहिले विवरण सङ्कलनको काम भइरहेको छ।”

यातायात प्रभावित

शुक्रवार बिहान जारी सूचनामा विपी राजमार्ग अन्तर्गत विभिन्न दुई ठाउँमा पहिरो आएपछि सडक अवरूद्ध रहेको बताइएको थियो। सिद्धार्थ राजमार्ग अन्तर्गत समेत बुटवल-पाल्पा सडक खण्डमा सडक अवरूद्ध छ। लमजुङ-मनाङ र भोजपुर-धरान सडकखण्ड समेत अवरूद्ध छ।मुग्लिन-नौबिसे सडकखण्ड अन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङ खोला नजिकै लेदोले सडक पुरिएपछि सडक अवरुद्ध भएको राससले जनाएको छ।

वर्षा

पूर्व पश्चिम राजमार्गको रौतहटमा समेत बाटो अवरूद्ध भएकोमा तिनलाई हटाउने प्रयासहरू सुरु गरिसकिएको प्रहरीका निमित्त प्रवक्ता थापाले बताए। हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ आउने फाखेल र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा शुक्रवार बिहानदेखि हेटौँडा-कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध भएको छ ।

राससका अनुसार त्रिभुवन राजपथको बागझोरामा बिहान आएको बाढीले हेटौँडा-काठमाडौँको यातायात सेवा पनि अवरुद्ध भएको छ। शुक्रवार बिहान काठमाण्डू विमानस्थलमा अवतरणको क्रममा यति एयरलाइन्सको विमान चिप्लिएपछि अवतरणका क्रममा रहेका थुप्रै विमानलाई अन्यत्र पठाइएको थियो। तराईका केही विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन्। उपत्यका सहित देशका थुप्रै शहरहरूमा पानीको भेल पसेको विवरणहरू आएका छन्।

के छ पूर्वानुमान ?

शनिवारसम्म मनसुनको न्यूनचापिय रेखा पूर्व र मध्य नेपालमा देखिएकोले पर्सिसम्म निरन्तर पानी पर्ने मौसमी अवस्था देखिएको मौसमविद्हरूले जनाएका छन्। त्यसरी सिर्जना भएको अवस्थाका कारण पानी र कतिपय अवस्थामा हावाहुरी समेत आउने देखिएको छ।

वर्षा
वर्षासँगै गएको पहिरोले बिपी राजमार्ग सहित देशका विभिन्न सडक खण्ड अवरूद्ध भएका छन्।

“आइतबारबाट न्यूनचापिय क्षेत्र कमजोर हुने देखिएको भए पनि दुई दिनयता लगातार पानी पर्दा माटो उच्च विन्दुमा गलेर बग्ने जोखिम छ। आइतवारपछि पनि जोखिम तत्काल कम हुने देखिँदैन,” मौसम पूर्वानुमान विभागकी मौसमविद् विभूति पोखरेलले भनिन्।

“न्यूनचापीय रेखा उत्तरतर्फ रहेकोले मनसुन नेपालमा सबैभन्दा बढी सक्रिय छ। पानी पर्ने क्रम बढी र कम भएपनि वर्षाको प्रभाव देशभर हुने देखिन्छ।” जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा शुक्रवार विशेष बुलेटिन जारी गर्दै तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो स्थानमा वर्षा हुने जनाएको राससले बताएको छ।

सिफारिस