बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या २८ पुग्यो, उद्धारका लागि २८ हजार प्रहरी परिचालन (विवरण)

दियो पोस्ट  

काठमाडौँ, असार २८ । बिहीबारदेखिको बर्षाका कारण मुलकभरको जनजीवन अस्तव्यस्त बनेको छ । लगातारको बर्षा र त्यसपछि आएको बाढी र पहिरोबाट ठुलो संख्यामा धनजनको क्षति भएको छ ।

नेपाल प्रहरीका अनुसार शनिबार दिउँसो सम्म बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या २८ जना पुगेको छ । त्यस्तै १६ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार पहिरोमा परि ११ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी काठमाडौं, खोटाङ, ललितपुर र काभ्रेमा ३÷३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २÷२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १÷१ जना गरी २८ जनाको ज्यान गएको हो ।

त्यस्तै पहिरोमा परेका ६४ जनालाई उद्धार गरिएको छ । उद्धारका लागि २७ हजार ८ सय ३० प्रहरी परिचालन गरिएको छ । प्रहरीले काठमाडौँबाट ४२ जना, उदयपुरबाट १९ जना, ललितपुरबाट ३ जना, सिन्धुलीबाट ४ जना, सिराहबाट २ जना, भक्तपुर, मकवानपुर र सुनसरीबाट एकएक जनालाई उद्दार गरिएको छ ।

साथै मकवानपुरमा ३ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १÷१ जना गरी ११ जना घाइते भएका हुन् । सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा ११ जना गरी १६ जना वेपत्ता भएका छन् ।

बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु सहित काठमाण्डौ उपत्यकामा ८८५६ जना, प्रदेश नं १ मा ६३०५ जना, प्रदेश नं २ मा ५७०२ जना, प्रदेश नं ३ मा ३४०५ जना , प्रदेश नं ६ मा ३११२ जना गरि प्रभावित स्थानहरुमा २७,३८० प्रहरी कर्मचारीहरु उद्धारमा संलग्न रहेका छन ।

विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ । यसै गरि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल समेत अवरोध हटाई हिजो साँझ ७ बजे बाट सुचारु गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।