भाटभटेनीका अध्यक्ष र नेकपा महासचिवको सेटिङमा नीजि बाटोलाई सरकारी जग्गा र बजेट

दियोपोस्ट संवाददाता

काठमाडौं, असार ३१ । भूमाफियाले हडपेको जग्गामा ‘प्लटिङको बाटो’ खोल्न सरकारले नै गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका नाममा रहेको करिब दुई रोपनी जग्गासँगै बजेटसमेत दिएको पाइएको छ। भूमाफियाको सेटिङमा हडपिएको बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब १ सय १४ रोपनी जग्गा प्लटिङ गर्दा ८ मिटर चौडा र ५ सय ७० मिटर लामो निजी बाटो बनाउन सरकारले जग्गा र बजेट दिएको अनुसन्धानबाट खुलेको हो।

बाटो खोल्नकै लागि भूमाफियाद्वय शोभाकान्त ढकाल र रामकुमार सुवेदी, भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ, हाल प्रमुख सत्तारूढ दल नेकपाका महासचिव रहेका तत्कालीन मन्त्री विष्णुप्रसाद पौडेललगायतले सेटिङ मिलाएको स्रोतको दाबी छ। भूमाफियाले कब्जा गरेको त्यही १ सय १४ रोपनी जग्गाभित्रै नेकपाका महासचिव पौडेलका छोरा नवीनका नाममा पनि आठ आना जग्गा छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिन गरिरहेको छ।

‘भूमाफियाले हडपेको ललितानिवासको जग्गामा प्लटिङ गरेर बाटोको पहुँच विस्तार गर्नकै लागि १ रोपनी ११ आना २ दाम जग्गा तथा ५ सय ७० मिटर लम्बाइ र ८ मिटर चौडाइको सडक बनाउन लाग्ने बजेट सरकारबाटै भुक्तानी दिइएको खुल्न आयो,’ अनुसन्धान स्रोतले भन्यो, ‘हडपिएको सरकारी जग्गामा निजी बाटो बनाउन सरकारी जग्गा र सरकारले नै बजेट दिने तथा त्यसमा निर्णय गर्नेमाथि अनुसन्धान भइरहेको छ।’ नागरिक दैनिकमा मातृका दाहालले समाचार लेखेका छन् ।

सम्बन्धित खबर

सिफारिस