मन्दिरको जमिन बेच्ने महन्त निलम्वित, गुठी संस्थानको छानविन शुरु

दियो पोस्ट  

काठमाडौं, साउन १ । विभिन्न मठमन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको आरोप लागेका महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवलाई गुठी संस्थानले निलम्बन गरेर छानबिन सुरु गरेको छ।

जगन्नाथले सरकारी जग्गा बिक्री गरेर दुरुपयोग गरेको आरोप लागेपछि छानबिनका लागि निलम्बन गरिएको संस्थानका अध्यक्ष मीनराज चौधरीले बताए। ‘विभिन्न जिल्लामा जग्गा बिक्री गरेको सञ्चारमाध्यमबाट थाहा पाएपछि जगन्नाथलाई निलम्बन गरेका छौं,’ चौधरीले मंगलबार नागरिकसँग भने, ‘जग्गा बिक्रीको विषयमा छानबिन गरेर कारबाही गर्छौं।’

रुपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, रामजानकीलगायत मन्दिरको सबा तीन अर्ब रुपैयाँ पर्ने करिब सात बिघा जमिन बिक्री गरेर हिनामिना गरेको आरोप जगन्नाथमाथि लागेको छ। जग्गा बिक्री प्रकरणले सिंगो गुठी संस्थान बदनाम भएकाले छानबिन गरी कडा कारबाही गर्ने अध्यक्ष चौधरीले बताए। ‘देउताका नाममा भएको जग्गा मिलेभगत गरेर बिक्री गरेको देखियो,’ चौधरीले भने, ‘केही जमिन बिक्री गर्ने सूचनाका आधारमा रोक्का पनि गरेका छौं।’ अध्यक्ष चौधरीका अनुसार पछिल्लो पटक जनकपुरको रामनिद्यरको ७÷८ कट्ठा जग्गा बिक्री गर्न लागेको सूचनाका आधारमा रोक्का गरिएको छ।

मठमन्दिरको जग्गा बिक्रीको विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पनि चासो व्यक्त गरेको छ। भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले जग्गा बिक्री गर्नेलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ। ‘मन्त्रीज्यू मंगलबार विदेश जानुभएको छ,’ सचिवालयका एक कर्मचारीले भने, ‘विदेशबाट फर्केपछि थप एक्सनमा जानुहुन्छ।’
दिलीप पौडेलले नागरिक दैनिकमा खबर छापेका छन् ।