पप्पु कन्सट्रक्सनले तीनकुनेमा बनाइरहेको आर्क ब्रिजको जग नै मापदण्डविपरित

दियो पोस्ट  

काठमाडौँ, साउन २ । राजधानीको व्यस्त सडक नयाँ बानेश्वर–तीनकुने जोड्ने निर्माणाधीन आर्क बिज्रको जग नै मापदण्डविपरीत रहेको पुष्टि भएको छ । पाटन इन्जिनियरिङ कलेजका सह–प्राध्यापक नारायण गौतम नेतृत्वको कन्सल्टेन्ट सर्भिस सेक्सनले तीन महिना लगाएर गरेको अनुसन्धानपछि पुलको जग नै मापदण्डविपरीत रहेको पत्ता लागेको हो । सेक्सनले अध्ययन प्रतिवेदन सडक विभागअन्तर्गतको काठमाडौं उपत्यका सडक विस्तार आयोजनालाई बुझाइसकेको छ ।

प्रतिवेदनअनुसार पुलको जग २९ दशमलव ५ मिटर गहिरो हुनुपर्नेमा निर्माण कम्पनी (पप्पु कन्स्ट्रक्सन) ले १६ दशमलव १२ मिटर मात्रै खनेर ढलान गरेको छ । पुलका लागि १६ वटा जग आवश्यक छ । जसमध्ये दुईवटा जग निर्माण सम्पन्न नहुँदै चर्किएको छ । विस्तार आयोजनका प्रमुख अर्जुनप्रसाद अर्यालले पुलको जग मापदण्डविपरीत रहेको पुष्टि भएको बताए ।

उनले भने, ‘हाम्रै सुपरिवेक्षणमा उसले पुलको जग हाल्यो । मापदण्डविपरीत भएको देखिएपछि हामीले तत्काल रोक्न भन्याँै । तर, उसले जबर्जस्ती काम ग¥यो । ठेक्काबापतको रकम रोकेपछि बल्ल उसले काम रोक्यो । यही क्रममा जगको परीक्षण गर्नुपर्ने निर्देशन दियौँ । पाटन कलेजका इन्जिनियरले तीन महिना लगाएर अध्ययन गरे । अध्ययनले पनि पुलको जग मापदण्डविपरीत रहेको पुष्टि गरेको छ ।’ पुलको जग सुधारका लागि कन्सल्टेन्ट सर्भिस सेक्सनले सुझाब दिएको तर, अझै चित्तबुझ्दो नभएको आयोजनाको भनाइ छ । अध्ययन प्रतिवेदनमा मापदण्डविपरीत बनेको जगलाई सपोर्ट गर्न सोही ठाउँमा अर्काे जग बनाइनुपर्ने उल्लेख छ ।

तर, यसले मात्रै पुलको भार नथेग्ने आयोजनाको भनाइ छ । पुलको बीचमा पर्ने गरी वारपार १६ वटै जग हाल्न सके मात्रै बलियो हुने आयोजना प्रमुख अर्यालले बताए । उनले भने, ‘कन्सल्टेन्टले सुधारका लागि सुझाब दिएको छ । तर, त्यो चित्तबुझ्दो छैन । यी सबै जान्दाजान्दै हस्ताक्षर गरेर पुल निर्माणको अनुमति दिन हामी सक्दैनौ । हामीले भनेअनुसार पक्की पुल निर्माण नगरे ठेक्का नै तोड्नेसम्मको कारबाही गर्न बाध्य हुनेछौँ ।’ २१ करोड ३३ लाख रुपैयाँमा बन्न लागेको पुलको ठेक्का सम्झौता ४ पुस ०७१ मा भएको हो । नयाँ पत्रिका दैनिकमा टेकराज थामीले समाचार लेखेका छन् ।