काठमाडौं । राजधानीको कलंकीमा गोली प्रहार भएको छ । कलंकीको एक मन्दिर नजिकै पूर्व उपसचिव विष्णु अर्यालको घरमा गोली प्रहार भएको थियो । घरको दोस्रो तलाबाट कोठामा झ्यालको सिसा फुटाउँदै गोली भित्र पुगेको प्रहरीले बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले सोमबार राती पौने ९ बजेतिर अर्यालको घरको अध्ययन कोठामा झ्यालको सिसा फुटाउँदै गोली भित्र पुगेको बताए । घर माथितिर बाटो रहेको र सँगै अर्को घर समेत रहेकाले गोली कसले किन हान्यो भन्नेबारे अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए ।
‘गोली प्रहार भएको भन्ने जानकारी पाएसँगै पुगेको प्रहरी टोलीले सानो हतियारको जस्तो देखिने गोली बरामद गरेको छ । अहिले हामीले त्यसलाई परीक्षणका लागि ल्याबमा पठाएका छौं’, उनले भने, ‘रिपोर्ट आएपछि घटनामा संलग्नलाई पक्राउ गर्छौ ।’
प्रहरीका अनुसार सानो हतियारको जस्तो गोली सामान्यतः सिकार प्रयोजनका लागि प्रयोग गरिन्छ । प्रहरीले घटनास्थल वरिवरि लाइसेन्स प्राप्त व्यक्तिहरुको पनि रहेको भन्दै अनुसन्धानको सुई त्यसतर्फ पनि सोझ्याएको छ ।