काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यामा दिलीप विष्ट संलग्न भएको थुप्रै आधार मिलेको भए पनि डि.एन.ए. नमिलेका कारण छोडिएको बताएका छन् । सोमबार राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले अनुसन्धान जारी रहेको बताए ।
उनले भने, ‘सबै विषय (प्रमाण) हेर्दा दिलीप विष्ट नै दोषी हो कि भन्ने देखिन्छ, डीएनए म्याच नभएपछि विष्ट रिहा भएका हुन्, अरू सबै चिजले म्याच गर्छ, तर पनि हाम्रो अनुसन्धान जारी छ ।’
उनले हाई प्रोफाइललाई जोगाउन अरूलाई फसाएको भन्ने आरोपमा सत्यता नरहेको उल्लेख गर्दै अनुसन्धानका क्रममा सयौंलाई बोलाइएको उल्लेख गरे । ‘अब हामी नयाँ सूत्र र प्रक्रिया प्रयोग गरेर अनुसन्धान गर्छौं,’ मन्त्री थापाले भने । २०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मलाको बलात्कारपछि हत्या भएको थियो । उनको हत्यापछि आधा दर्जन समिति, शंकास्पद भनिएका ५ सय २९ जनासँग बयान र ७३ जनाको डीएनए परीक्षण भइसकेको छ ।
सरकारले गत वर्ष आश्वासन दिएका विषय के कहाँ पुगेका छन् भनेर समितिले ९ वटा प्रश्नको जवाफ दिन गृहमन्त्री थापालाई बोलाएको थियो । निर्मला प्रकरणमा अपराधी पत्ता लगाउन प्रहरी लागिरहेको जवाफ गृहमन्त्री थापाले दिएका थिए । ‘कञ्चनपुर घटनाको विस्तृत विवरण सदन (समिति)लाई उपलब्ध गराउँछु, यो अनुसन्धान प्रक्रियामा भएकाले सार्वजनिक नगरिदिन समितिलाई आग्रह छ,’ उनले भने ।