माइला लामा पक्राउको बिरोधमा आज राति मसाल जुलुस, भोलि नेपाल बन्द

दियो पोस्ट  

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्ना उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरिएको विरोधमा भोलि साउन १५ गते नेपाल बन्दको घोषणा गरेको छ ।

सो पार्टीका प्रवक्ता खड्गबहादुर विक प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै बन्दसहित संघर्षका कार्यक्रम सार्वजनिक गरेका थिए ।

पूर्व निर्धारित कार्यक्रम अन्र्तगत आज १४ बेलुकी मसाल जुलुस गरिने बताइएको छ । यस्तै १५ गते बागमति, नारायणी र जनकपुरभित्र पर्ने जिल्लाका साथै दोलखा र रामेछाप बन्दको घोषणा गरिएको छ ।

विज्ञप्तिमा सरकारले इतिहासका तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आतातायी गिरफ्तारी एवं दमन गरेको आरोप लगाइएको छ । विकले आफ्नो पार्टी त्यसको निन्दा र भत्र्सना गर्ने भन्दै लामाको रिहाइको माग गरेका छन् ।

सो पार्टीका सांस्कृतिका फाँटका इन्चार्जसमेत रहेका लामालाई प्रहरीले ४ साउनमा काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको थियो । लामाविरुद्ध बम विस्फोट, जबर्जस्ती चन्दा असुलीलगायत अभियोग लगाइएको छ । उनलाई अदालतको आदेशमा नख्खु कारागारमा राखिएको छ ।